नरैनापुरमा आगलागीबाट २२ घर जलेर नष्ट

नरैनापुर–१ सुइँयामा आगलागीबाट नष्ट भएको घर । फोटो सौजन्य : रुपन ज्ञवाली

नरैनापुर : बाँकेको नरैनापुर गाउँपालिका–१, सुइयामा सोमबार आगलागी हुँदा २२ घर जलेर नष्ट भएका छन् ।

गाउँपालिकाको दलित बस्ती सुइँयामा भएको आगलागीबाट २२ घर जलेर पूर्णरुपमा नष्ट भएको घटनास्थल पुगेर फर्केका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।
मनिजर पासीको कच्ची घरबाट लागेको आगो क्रमशः गाउँका अन्य घरमा पनि सल्किएपछि ठूलो क्षति भएको स्थानीयको बताएका छन् । सोमबार बिहान ११ बजे सुरु भएको आगलागी स्थानीय र प्रहरीको सहयोगमा २ घन्टामा नियन्त्रणमा लिइएको थियो । सोमबार अपरान्ह ५ बजेतिर प्रजिअ कुरुम्वाङको नेतृत्वमा जिल्ला विपद व्यवस्थापन समिति बाँकेले प्रभावित क्षेत्रमा पुगेर तत्काल प्रति परिवार १५ हजारका दरले नगद राहत सहयोग गरेको केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । त्यसैगरी नेपाल रेडक्रस सोसाइटीले पनि प्रभावित परिवारलाई ७ हजार बराबरको प्रति परिवार गैरखाद्य सामाग्री उपलब्ध गराएको छ । गाउँपालिकाले खानाको ब्यवस्था गरिएको प्रजिअ कुरूम्वाङ्गले जानकारी दिए ।