खजुरामा २८ फागुनदेखि १ चैत्रसम्म तेस्रो मेयर रनिङ शिल्ड खेलकुद हुँदै

खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति खजुरामा पत्रकार सम्मेलनमा

खजुरा : बाँकेको खजुरा गाउँपालिकाले आगामी २८ फागुनदेखि १ चैत्रसम्म अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपतिले बुधबार खजुरामा पत्रकार सम्मेलन गरी जनकल्याण मावि बद्रीपुरमा आयोजना गर्न लागेको जानकारी दिए । प्रतियोगितामा माध्यमिक तह (कक्षा ९­ १२) र आधारभूत तह (कक्षा ६­८) गरी दुई ओटा रनिङ शिल्डका साथै आधारभूत तह (कक्षा १­५) का लागि सहायक खेल गरी ३१ वटा खेल खेलाइने अध्यक्ष कक्षपतिले बताए । प्रतियोगितालाई जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुदको छनौट खेलको रुपमा लिइएको छ ।
खजुराका १७ मदरसा गरी ६५ विद्यालयका झन्डै १ हजार विद्यार्थीहरुको सहभागिता रहनेसचिवालय संयोजक यमनारायण महतोले जानकारी दिए । प्रतियोगितामा माविका प्रथम, दोस्रो र तेस्रो स्थान ल्याउने विजेतालाई क्रमशः २५ हजार, १५ हजार र १० हजार, आधारभूत तहका विजेतालाई १५ हजार, १० हजार र ७ हजार र आधारभूत तहका प्रथम, दोस्रो र तेस्रोलाई १० हजार ७ हजार ५ हजार नगद पुरस्कार, प्रमाणपत्र र ट्र«फी प्रदान गरिने जनाइएको छ । यसअघि पहिलो रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०७५ फाल्गुण ३–६ जनसेवा मावि पुरैना र दोस्रो संस्करण २०७६ पौष २७ देखि ३ माघसम्म अमर माविको व्यवस्थापनमा सञ्चालन भएको थियो ।