एन्फा प्रेसिडेन्ट लिगमा कैलाली विजयी 

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुदूरपश्चिम स्टारसिटी युवा क्लब (कैलाली) ले विजयी सुरुवात गरेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा सोमबार नेपालगन्ज रंगशालामा भएको उदघाटन खेलमा प्रदेश–२ को मनकामना युवा क्लब (रौतहट) लाई ३–० को अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।
स्टारसिटीका तर्फबाट १७ नं. जर्सीका रुपबहादुर लामाले खेल प्रारम्भ भएको ३ मिनेटमै पहिलो गोल गरेर जितको सुरुवात गरेका थिए । त्यस्तै दोस्रो गोल पहिलो हाफको इन्जुरी समय ४६ मिनेटमा ११ नं. जर्सीका दीपक राज सिंह ठकुरी र ८१ मिनेटमा तेस्रो गोल फेरि रुपबहादुरले गर्दै टिमलाई जिताएका थिए । आगामी चैत १५ गतेसम्म संचालन हुने लिगमा ७ प्रदेशका टिमले प्रतिस्पर्धा गरिरहेका छन् । प्रेसिडेन्ट लिग–२०७७ को विजेताले १० लाख र उपविजेताले ५ लाख पाउने एन्फाले जनाएको छ । त्यस्तै विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउने आयोजकले जनाएको छ ।