एन्फा प्रेसिडेन्ट लिग फुटबल : आज ४ बजे नेपालगन्जको धम्बोझी क्लब गण्डकीसँग भिँड्दै

लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी क्लब । फोटो : अनलाइनखोजखबरबाट

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगितामा नेपालगन्जको धम्बोझी स्पोस्टस् क्लबले गण्डकी प्रदेशबाट लमजुङको त्रिवेणी युवा क्लबसँग भिँड्दैछ ।
घरेलु मैदान नेपालगन्ज रंगशालामा दिउँसो ४ बजे हुने खेलमा धम्बोझी क्लबले प्रतिष्पर्धा गर्ने खेल तालिका रहेको लुम्बिनी प्रदेशका प्रशिक्षक भद्रसिंह थापाले बताए । सोमबारको उद्घाटन खेल प्रदेश २ लाई जितेर सुदूरपश्चिमले विजयी सुरुवात गरिसकेको छ । मंगलबार दिउँसोको दोस्रो खेल बागमती र कर्णाली प्रदेशको टिमबीच हुनेछ । तेस्रो खेल लुम्बिनी र गण्डकी प्रदेशको हुनेछ ।
‘एन्फा प्रेसिडेन्ट लिग’ प्रतियोगितामा प्रदेश–१ को लिग च्याम्पियन सैनिक फुटबल क्लब (झापा), प्रदेश–२ को मनकामना युवा क्लब (रौतहट), बागमतिको धादिङ समाज, गण्डकीको त्रिवेणी युवा क्लब (लमजुङ), लुम्बिनीको धम्बोझी युवा क्लब (बाँके), कर्णालीको लेकाली युवा क्लब (जुम्ला) र सुदूरपश्चिम स्टारसिटी युवा क्लब (कैलाली) ले प्रतिष्पर्धा गर्दैछन् । विजेताले १० लाख र उप–विजेताले ५ लाख नगद पाउनेछन् ।