घरेलु मैदानमा धम्बोजीको जित

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको मंगलबारको खेलमा लुम्बिनी प्रदेशको लिग च्याम्पियन धम्बोझी युवा क्लब बाँके विजयी भएको छ ।
घरेलु मैदान नेपालगन्ज रंगशालामा भएको खेलमा धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलमा धम्बोझीको लागि पूर्णबहादुर गुरुङले ४२ औं मिनेटमा गोल गरेका थिए । उनलाई अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य एवम् नेपाल ओलम्पिक कमिटि सदस्य दीर्घबहादुर केसी (कुमार) ले ५ हजारसहित म्यान अफ द म्याचबाट सम्मान गरेका थिए। त्यसैगरी दोस्रो दिनको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाजले कर्णाली प्र्रदेशको लेकाली युवा क्लब जुम्लालाई फराकिलो गोल अन्तरले हराएको छ । खेलमा धादिङ समाजले जुम्लालाई ९–१ ले पराजित गरेको हो ।


धादिङको तर्फबाट जितका लागि जर्सी नम्बर ७ का कप्तान अमिर श्रेष्ठले सर्वाधिक चार गोल गरेका थिए । उनले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए । त्यसैगरी धादिङको तर्फबाट शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गरी ३ गोल गरे भने उमेश राईले ८९ मिनेट र विपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए ।
धादिङविरुद्ध मैदानमा उत्रेको जुम्लाको तर्फबाट कप्तान संगम शाहीले ५५ मिनेटमा १ गोल गरेका थिए । प्रतियोगिता अन्तर्गत बुधबार एउटा मात्र खेल हुनेछ । जसमा प्रदेश १ को सैनिक फुटबल क्लब झापा र सुदूरपश्चिमको स्टारसिटी युवा क्लब कैलालीबीच हुने एन्फाले जनाएको छ ।