एन्फा प्रेसिडेन्ट लिगमा स्टारसिटीले जोड्यो ६ अंक

सुदूरपश्चिमको स्टारसिटी र प्रदेश १ सैनिक युथ क्लबबीच प्रतिष्पर्धा । फोटो सौजन्य : कमल खत्री

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा सुदूरपश्चिम प्रदेशको स्टारसिटी युवा क्लबले लगातार दोस्रो जित हासिल गर्दै ६ अंक जोड्न सफल भएको छ ।

स्टारसिटीले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो । नेपालगन्ज रंगशालामा बुधबार भएको खेलमा स्टार सिटीले प्रदेश १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको हो । स्टारसिटीको तर्फबाट कुलदिप कार्कीले पेनाल्टी मार्फत ३८ मिनेट र रुपबहादुर लामाले गोल गरेका थिए । सैनिकका जीवन गुरुङले ४० मिनेटमा गोल गरेका थिए । खेलमा म्यान अफ द म्याच सैनिका गोल किपर एवम् कप्तान किशोर गिरी घोषित भए ।