टिकटक भन्दै बालविवाह !

नेपालगन्जको बागेश्वरी मन्दिरमा टिकटक भन्दै बालविवाह गर्दा गर्दै पक्राउ परेको जोडी 

शंकरप्रसाद खनाल । नेपालगन्ज
नेपालगन्जको बागेश्वरी मन्दिरको जुङ्गे महादेव मन्दिरमा शुक्रबार बिहान ७ः३० बजे एक जोडीले सिन्दुर हाले । यो मन्दिरमा विवाह गर्न धेरै जना आउँछन् । तर, सिउँदोमा बाक्लो सिन्दुर थियो । बेहुलाबेहुली दुबै २० वर्ष मुनिको उमेरका देखिन्थे । सिन्दुर हालिसकेपछि बेहुलाबेहुली भिडियो बनाउन थाले । ‘१० रुपैयाँमा किनेको सबै सिन्दुरले सिउँदो भरेको देख्दा मलाई शंका लाग्यो’, घटनाकी प्रत्यक्षदर्शी एक किशोरीले भनिन्, ‘मैले सोध्दा ‘टिकटक’ बनाएको जवाफ दिए । मैले पत्याइन् । त्यत्ति भनेर उनीहरु डराएर भाग्न थाले ।’ तत्कालै बागेश्वरी मन्दिरको सुरक्षार्थ तैनार्थ प्रहरी आए । पक्राउ परेपछि पनि युवाले टिकटक नै बनाएको अडान छोडेनन् । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रमा बेहुला र बेहुलीलाई अलग–अलग राखेर सोधपुछ गर्दा मात्र विवाहको रहस्य खुल्यो । ‘बुबाको मृत्यु भइसकेको छ । आमा विदेश हुनुहुन्छ । हामीले भागेर बिहे गरेका हौं’, बेहुलीले टिकटक भिडियो बनाएको भनेर ढाँटेकोबारे प्रहरी बयानमा प्रष्ट पारिन्, ‘बालविवाह गरेको थाहा पाएपछि प्रहरीले जेल हाल्छ भन्ने डरले टिकटक भनेका हौं ।’ कोहलपुर नगरपालिकाको एउटै वडाका कक्षा ८ का विद्यार्थी उनीहरु परिवारले नस्वीकार्ने डरले अन्तर जातीय र अन्तर धार्मिक बिहे गर्न मन्दिर पुगेका थिए । प्रहरीले उमेर पुगेपछि मात्र विवाह गर्ने सर्तमा बेहुलीलाई उनकी फुपु र बेहुलालाई बाबु बोलाएर जिम्मा लगाएको छ ।
बालविवाह गरेर बहाना बनाएको बाँकेका लागि यो नौलो घटना भने होइन । ‘६ महिना अघि नेपालगन्ज–१९ मा बालविवाह भइरहेको थाहा पाएर हामी गयौंं । त्यहाँ एक जना बालकको कपाल खौरिएर मुण्डन भइरहेको भनियो । हामी फर्कियौं । ढाँटेर विवाह गरेछन्’, महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरले अनुभव सुनाइन्, ‘बालविवाह भइरहेको ठाउँमा प्रहरी पुग्दा बेहुली बहिनी लुकाएर दिदीलाई देखाउने पनि गरे । कसै–कसैले त बर्थ डे पार्टी भनेर पनि ढाँटे । बिहे गर्न उमेर बढाएर जन्मदर्ता नै गर्ने गरेका छन् ।’
नेपालगन्ज महानगरपालिकामै एक जना बालिका २० वर्षकी नभएपछि टोल भेलाले नै उमेर बढाइदियो । नेपालगन्ज–१० का कार्यपालिका सदस्य नरबहादुर विष्टले एक वर्ष अघिको घटना सम्झे, ‘समाजका व्यक्तिहरु बसेर सर्जिमिन गरेर केटीको उमेर २० वर्ष पुगेको छ भनिदिए । केटी हर्लक्कै बढेकी थिइ । हामीले पनि एक पटकका लागि हुन्छ भनिदियौं ।’
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले जिल्लाका ८ वटै स्थानीय तहलाई बालविवाह मुक्त घोषणा गर्न सघाएको छ । खजुरा-३ जिल्लामै पहिलो बालविवाह मुक्त वडा घोषणा भइसकेको छ । कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिकालगायतका स्थानीय तहमा पनि बाल विवाह मुक्त वडा घोषणाको तयारीमा छन् । तर समाजमा बालविवाह रोकिएका छैनन् । केही दिन अघि मात्र महिला तथा बालबालिका जेष्ठ नागरिक सेवा केन्द्रमा खजुरा गाउँपालिका–२ का २१ वर्षका अर्जुन परियारविरुद्ध बहुविवाहको उजुरी प¥यो । ‘२ महिनाअघि डुडुवा गाउँपालिकाबाट १८ वर्षीया किशोरीलाई बिहे गरेर ल्याएको रहेछ । उनी ७ दिन माइत बसेकै बेला फेरि आफ्नै साथीकी १८ वर्षकी पत्नीलाई खजुराबाट भगाएछ’, प्रसनि मगरले प्रष्ट पारिन्, ‘दुुबै केटीका आमाले मुद्दा नचलाउने भनेपछि केटालाई बाबुको जिम्मा लगायौं ।’
३ वर्षको अवधिमा बाँकेमा एक सय वटा बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ७ जनालाई त प्रहरीले विवाहको मण्डपबाटै उठाएर ल्याइएको थियो । फेरि विवाह नगर्ने शर्तमा सम्बन्धित वडाका जनप्रतिनिधिको रोहवरमा उनीहरुलाई छोडियो । ९ जनाविरुद्ध मुद्दा दायर गरी अरु सबैलाई उमेर पुगेपछि बिहे गराउने सर्तमा अभिभावकको जिम्मा लगाइएको छ । स्रोत : अन्नपूर्ण पोस्ट्