घरेलु टिम धम्बोझी क्लबको लगातार दोस्रो हार

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग फुटबलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लब नेपालगन्जको लगातार दोस्रो हार भएको छ ।
नेपालगन्ज रंगशालामा जारी प्रतियोगितामा घरेलु टिम धम्बोझीले सुरुका दुई वटा खेल लगातार जितेको थियो । तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशको स्टारसिटी युवा क्लब कैलालीले (३–१) को अन्तरले पराजित गरेको थियो । सोमबारको चौथो खेलमा प्रदेश १ को सैनिक युथ क्लब झापाले धम्बोझीलाई ३–२ को अन्तरले पराजित गरेको हो ।
सैनिकको तर्फबाट सुनिल खड्काले २० मिनेट, सुशील लामाले ३३ मिनेट र जीवन गुरुङले ४८औं मिनेटमा गोल गरेका थिए । धम्बोझीको तर्फबाट पूर्ण गुरुङले ५ मिनेट र बिशन गुरुङले ८०औं मिनेटमा गोल गरेका थिए ।
अर्को खेलमा भने स्टार सिटी युथ क्लब कैलालीलाई धादिङ समाज धादिङले १–१ को बराबरीमा रोकेको छ । खेलको अन्तिममा मिनेटमा दीपकराज सिंह ठकुरी गोल गरेपछि खेल बराबरी भएको थियो । उनले ९२औं मिनेटमा गोल गरे । त्यसअघि धादिङको तर्फबाट उमेश राईले ५३औं मिनेटमा गोल गरेका थिए । चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा सात वटै प्रदेशका एक एक वटा टिम सहभागी छन् ।