१९ महिनामा बाँकेमा क्षयरोगबाट ५८ को मृत्यु

नेपालगन्ज : बाँकेमा १९ महिनाको अवधिमा क्षयरोगबाट ५८ जनाको ज्यान गएको छ ।
विश्व क्षयरोग दिवसको पूर्वसन्ध्यामा मंगलबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेले क्षयरोगबारे सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा कार्यालयका जनस्वास्थ्य निरीक्षक तथा क्षयरोग/कुष्टरोग फोकल पर्सन मानव नेपालीले अघिल्लो आर्थिक वर्ष र चालु आवका ७ महिनामा ५८ जना क्षयरोगीले ज्यान गुमाएको जानकारी दिए । अघिल्लो आर्थिक वर्षमा ३८ र चालु आर्थिक वर्षमा २० जनाको क्षयरोगबाट ज्यान गएको नेपालीले प्रष्ट पारे ।
लुम्बिनी प्रदेशमा धेरै क्षयरोगी भएका जिल्लामध्ये बाँके तेस्रो नम्बरमा रहेको उनले बताए । सबैभन्दा बढी रुपन्देहीमा एक हजार एक सय ६३, दोस्रो दाङमा नौ सय १६ र तेस्रो बाँकेमा आठ सय ३३ क्षयरोगी छन् (पढ्नुस् तालिका)। यो अघिल्लो आर्थिक वर्षको तथ्याङ्क हो । यो वर्षका सात महिनामा थपिएका चार सय ७५ क्षयरोगी जोड्दा जिल्लामा १९ महिनामा एक हजार तीन सय आठ जना क्षयरोगी भएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुुख धीरजंग शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तव, भेरी अस्पतालका डा.सुमन अर्याल, एमाले नेता दत्तप्रसाद आचार्य, पत्रकार रुद्र सुवेदीलगायतका सरोकारवालाहरुले क्षयरोगविरुद्ध लाग्ने प्रतिबद्धता जनाएका थिए ।