दाइजोको निहुँमा बुहारी जलाउने ससुरा ७ वर्षपछि पक्राउ

नेपालगन्ज : दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै बुहारी मार्न खोज्ने ससुरा सात वर्षपछि पक्राउ परेका छन् ।
नरैनापुर गाउँपालिका २ की २३ वर्षिय बुहारी रिहाना ढपालीलाई दाइजोको निहुँमा आगो लगाउने ७५ वर्षिय ससुरा हनिफ शेष ढपाली सोमबार राती पक्राउ परेका हुन् ।
ससुरा हनिफ, पति फरिद शेष ढपाली र सासु सजहाद खाँले २ चैत्र २०७० राति रिहानालाई दाइजोमा मोटरसाइकल र नगद नल्याएको भन्दै शरीरमा मट्टितेल छर्कि आगो लगाएका थिए । घाइते रिहानालाई उनीहरुले उपचारका लागि भारत लगेको र पछि माइती पक्षलाई जानकारी दिएका थिए । माइती पक्षले प्रहरीमा उजुरी गरेपछि उनको काठमाडौंमा उपचार भएको थियो ।
घटना लगत्तै रिहानाका पति, सासु र ससुरा तत्कालै घर छोडी फरार रहेका थिए । लामो समयसम्म फरार रहेका उनीहरु नरैनापुर १ सुइया स्थित लुकिछिपी बसेको भन्ने सूचनाका आधारमा प्रहरीले ससुरालाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । घटनामा संलग्न रिहानाका पति र सासु भने अझैं फरार रहेका छन ।