क्षयरोगबाट बाँकेमा हरेक महिना ३ जनाको मृत्यु (पालिका सूचीसहित)

नेपालगन्ज : बाँके जिल्लामा क्षयरोगबाट हरेक महिना ३ जनाको ज्यान जाने गरेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग तथा कुष्टरोग फोकल पर्सन मानव नेपालीका अनुसार जिल्लामा १९ महिनाको अवधिमा ५८ क्षयरोगीको मृत्यु भएको छ । जुन औसत हरेक महिना ३ जनाको मृत्यु हो । आर्थिक वर्ष ०७६÷७७ मा ३८ जना र चालु आवको साउनदेखि पुस मसान्तसम्म २० जना क्षयरोगीको ज्यान गएको हो । जसमा ४१ पुरुष र १७ महिला छन् । यो अवधिमा एक हजार तीन सय नौ क्षयरोगीको पहिचान भएकोमा मृत्यु हुने रोगीको संख्या ४.४३ प्रतिशत हो । जिल्लाको शहरी क्षेत्रमै सबैभन्दा बढी क्षयरोगी पहिचान भएका छन् । सबैभन्दा धेरै क्षयरोगी नेपालगन्ज उपमहानगरपालिकामा तीन सय ७४ र कोहलपुर नगरपालिकामा दुई सय २५ गरी पाँच सय ९९ क्षयरोगी सहरी क्षेत्रका मात्र छन् । जुन जिल्लाको कूल रोगीको झन्डै आधा हिस्सा हो । क्षयरोगबाट मृत्यु पनि नेपालगन्जमै सबैभन्दा धेरैै १६ जनाको भएको छ । क्षयरोगी र मृतकको एक तिहाइ हिस्सा नेपालगन्जमै छ । जुन जिल्लाका कूल क्षयरोगीमध्ये नेपालगन्जमा २८.५७ प्र्रतिशत र मृतक २७.५७ प्रतिशत हो (विस्तृत पढ्नुस् तालिकामा) ।