माइती नेपालको नगर परियोजना परामर्श समितिको बैठक

मुरली गोडिया । गुलरिया
माइती नेपाल बर्दियाको आयोजनामा मानव बेचबिखन तथा ओसारपसारबिरुद्धको नगर परियोजना परामर्श समितिको बैठक बसेको छ ।
माइती नेपाल बर्दियाले गर्दै आएको मानव बेचबिखन तथा ओसारपसारविरुद्धको क्रियाकलापहरुको समीक्षा गर्दै थप कार्यक्रमहरु प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको बैठकमा जोड दिइएको छ । गुलरिया नगरपालिकाकी उपप्रमुख सुशीला गिरीले माइती नेपालको आफ्ना कार्यक्रमहरु सकारात्मक एवं प्रभावकारी रहेको तथा निरन्तर समन्वय भइरहेको बताइन् । बर्दिया जिल्ला भारतसँग जोडिएको खुला सिमाना भएको हुँदा थप नाकाहरुमा परामर्श र नगरपालिकासँग समन्वय गरि थप क्रियाकलाप गर्न आवश्यक रहेको गिरीको भनाई थियो । बैठकमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशील थापा मगरले मानव बेचविखनको घटना केवल बाहिरी देशमा बेच्ने नभइ देशभित्रै पनि घटनाको बारेमा जानकारी गराउन अवश्यक रहेको बताए । कार्यक्रमको सहजीकरण माइती नेपाल बर्दियाकी संयोजक गायत्री रिमालले गरेकी थिइन् ।