स्टार सिटी विजेता र धम्बोझी उप–विजेता

स्टार सिटी युवा क्लब धनगढी, धम्बोझी क्लब नेपालगन्ज, मनकामना क्लब रौतहट र त्रिवेणी युवा क्लब लमजुङले शहिद स्मारक ए डिभिजन लिग खेल्ने
एन्फा प्रेसिडेन्ट लिग फुटबलमा विजेता स्टार सिटी क्लब धनगढी

नेपालगन्ज : एन्फा प्रेसिडेन्ट लिग फुटबलमा प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलाली विजेता र लुम्बिनी प्रदेशको धम्बोझी स्पोटर्र्स् क्लब उपविजेता बनेको छ ।
नेपालगन्ज रंगशालामा भएको प्रतियोगितामा लिगको अंक तालिकामा १६ अंक जोड्दै स्टार सिटी च्याम्पियन भएको हो । स्टार सिटीले आइतबारको खेल गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लबलाई ३–२ को अन्तरले पराजित गरेको थियो । स्टार सिटीको तर्फबाट रुपबहादुर लामाले ५३औं मिनेट, चेतमान कठायतले ५६औ मिनेट र ५९औं मिनेटमा गोल गरे । त्रिवेणीका विश्व अधिकारीले ८९औं मिनेट र सरोज योन्जनले ९०औं मिनेटमा गोल गरे । यद्यपी एक खेल अघि नै स्टार सिटी च्याम्पियन घोषणा भइसकेको थियो । प्रतियोगितामा प्रथम भएको स्टार सिटीले १० लाख रुपैयाँ पुरस्कार जितेको छ ।

एन्फा प्रेसिडेन्ट लिग फुटबलमा उप–विजेता धम्बोझी स्पोटर्स् क्लब 

त्यसैगरी लिगका ६ खेलमध्ये ४ वटामा जित हासिल गर्दै १२ अंक जोडेको घरेलु टिम धम्बोझी उपविजेता बनेको छ । धम्बोझीले नगद ५ लाख रुपैयाँ पुरस्कार पाएको छ । सात वटै प्रदेशका लिग च्याम्पियन टिम सहभागी प्रतियोगितामा प्रदेश २ को च्याम्पियन मनकामना युवा क्लब रौतहट तेस्रो भएको छ । ६ खेलमध्ये २ वटामा मात्र जित निकालेको मनकामनाले आइतबारको अन्तिम खेलमा प्रदेश १ को सैनिक फुटबल क्लबलाई २–१ को अन्तरले हराएर तेस्रो स्थान सुरक्षित गरेको हो । मनकामनाको जितमा भुवन बस्नेतले २९औं मिनेट र विके राईले ५८औं मिनेटमा गोल गरेका थिए ।
मनकामना र त्रिवेणी युवा क्लबको समान अंक ९ भए पनि हेड टु हेडका आधारमा मनकामना तेस्रो भयो भने लमजुङले चौथोमा चित्त बुझाउनु परेको छ ।
प्रतियोगिताको शीर्ष चार टिम र सहिद स्मारक ए डिभिजन लिगका शीर्ष ६ टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन् ।
प्रतियोगितामा स्टार सिटीका खेलाडी रुपबहादुर लामा बेस्ट खेलाडी भए । उनले ५० हजार रुपैयाँ पुरस्कार पाए । फेयर प्ले भएको मनकामना युवा क्लबले पनि ५० हजार रुपैयाँ पुरस्कार जितेको थियो । स्टार सिटीका धनराज थापा बेस्ट डिफेन्स, धम्बोझी क्लबका निशान लिम्बु बेस्ट फरवार्ड, स्टार सिटीका टेकेन्द्र सिंह थापा वेस्ट गोलकिपर, र स्टार सिटीका प्रशिक्षक ललित चन्द बेस्ट कोचका रुपमा पुरस्कृत भए । उनीहरुलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा, धनगढी उपमहानगरपालिका प्रमुुख नृप वड, नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरलगायतले प्रतियोगिताका विजेता, उपविजेता टिम र खेलाडीलाई पुरस्कार, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।