भारत-चीन नाकामा लागूऔषध परीक्षण गर्ने उपकरण राखिने

नेपालगन्ज : गृह मन्त्रालयले भारत र चीनका नाकामा लागू औषध परीक्षण गर्ने उपकरण राख्ने तयारी गरेको छ ।
मन्त्रालयको लागू औषध नियन्त्रण शाखाले सोमबार नेपालगन्जमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका उपसचिव अर्जुन भण्डारीले भारतबाट लागू औषध आयात गरेर चीन लगायतका तेस्रो मुलुकमा कारोबार भएकाले यस्तो व्यवस्था गर्न लागिएको बताए । उनले भने, ‘हामी दक्षिणी र उत्तरी नाकामा ड्रग डिटेक्सन डिभाइस राख्न लागेका छौं । लागू औषध प्रयोग भए नभएको पत्ता लगाउने किट्स पनि राख्छौं । यसका लागि अर्थ मन्त्रालयसँग कुरा भइरहेको छ ।’

उनले पक्राउ परेका व्यक्तिको लागू औषध कारोबार कनेक्सन भारतबाट ल्याएर चीन, म्यानमार, थाइल्याण्ड, पाकिस्तानसम्म रहेको बताए । नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग भइरहेकाले पनि सीमामा लागू औषध परीक्षणको व्यवस्था गर्न लागेको गृहमन्त्रालयले जनाएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना, दीपेन्द्र जोशी, अभिराज क्षेत्री, सिम्रन राजभण्डारीलगायतले लागू औषध नियन्त्रणमा सरकार र समुदायको सहकार्यमा जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *