नेपालगन्जमा १० शिक्षक र ५ विद्यार्थीमा कोरोना, १ शिक्षकको कोरोनाबाट मृत्यु भएको आशंका

शैक्षिक संस्था ७ दिन बन्द

नेपालगन्ज : नेपालगन्जमा १० जना शिक्षक र ५ विद्यार्थीमा कोरोना पुष्टि भएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर शिक्षा अधिकारी गोर्खबहादुर थापाका अनुसार ५ सामुदायिक र ५ संस्थागत विद्यालय (बोर्डिङ स्कुल) का १० जना शिक्षक र ५ जना विद्यार्थीलाई कोरोना पुष्टि भएको हो । एक जना शिक्षकको कोरोनाबाट मृत्यु भएको आशंका गरिएको छ ।  नगर शिक्षा अधिकारी थापाले भने, ‘एक जना शिक्षकको कोरोनाका कारण मृत्यु भएको भनिएको छ । कोरोना परीक्षण नभएकाले पुष्टि भइसकेको छैन । मृतकको सम्पूर्ण लक्षणहरु कोरोनाका देखिएका छन् । स्वाब संकलन गरेर परीक्षण गर्न पठाइएको छ । रिपोर्ट आउन बाँकी छ ।’

यसैबीच उप–महानगरपालिकाको विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले आईतबारदेखि ७ दिन नगरका सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । बैठकले भारतबाट आउनेहरुको सीमा नाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ । मास्क अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्दै मास्क नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एक साताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर माक्र्स नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ ।