जमुनाहा सीमामा चेकजाँचमा कडाइ, अत्यावश्यक बाहेक भारत जान रोक (फोटो फिचर)

नेपालगन्जको सीमा नाका जमुनाहामा सुरक्षा व्यवस्था कडा गर्न निर्देशन दिँदै बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना । तस्बिरहरु सौजन्य : रुपन ज्ञवाली

नेपालगन्ज : बाँकेको सीमा नाका जमुनाहामा कडाइ सुरु भएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेको बिहीबारको बैठकले सीमामा चेकजाँचमा कडाइ गर्ने निर्णय भएसँगै बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना बिहीबार आफै सीमा नाका पुगेर मातहतका सुरक्षाकर्मीलाई आवतजातवलाई कडाइ गर्न निर्देशन दिएका हुन् । जमुनाहा नाकामा डोरीको बार लगाएर प्रहरीले जथाभावी सीमा वारपार गर्नेलाई नियन्त्रण गर्न सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज सइ विष्णु गिरीले बताए । उनले भने, ‘अब अत्यावश्यक काम बाहेक भारततिर जान रोक लगाइएको छ । भारतबाट आउने सबैको अनिवार्य रुपमा ज्वरो नापिने र ज्वरो आएका व्यक्तिलाई एन्टिजेन परीक्षण गरिने काम थालनी भएको छ ।’