भेरी अस्पतालमा मंगलबार ९३ प्रतिशतमा कोरोना

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा मंगलबार करिव ९३ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको कोरोना प्रयोगशालामा मंगलबार एक सय ९३ जनाको परिक्षण गर्दा १ सय ७९ जना अर्थात ९२ दसमलव ७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । अस्पतालका अनुसार सोमबार ३ सय ७५ जनाको परिक्षण गर्दा २ सय १९ अर्थात ५८.४ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो । भेरीमा गरिएको परिक्षणमा पछिल्लो ४८ घण्टामा ७० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको कोरोना प्रयोगशालामा कुल ५ सय ६८ जनाको परिक्षण गर्दा ३ सय ९८ जनामा भाइरस पोजेटिभ पाईएको हो ।
विहिबार देखि एकसाता लकडाउन
कोरोना संक्रमणको दोस्रो लहर भयावह रुपमा फैलिन थालेपछि बाँकेमा विहिबार देखि बन्दाबन्दी (लकडाउन )हुने भएको छ । मंगलबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को बैठकले बिहीबारदेखि एक साताका लागि लकडाउन गर्न केन्द्रमा सिफारिस गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार जिल्लामा संक्रमितहरुको संख्या दैनिक रुपमा ह्वातै बढेपछि एक हप्ता लकडाउन गर्नका लागि केन्द्रमा सिफारिस गरिएको हो ।
जिल्लाभरी नै लकडाउन गर्ने कि नेपालगन्ज उपमहानगरपालिकाभित्र अथवा जहाँ बढी जाखिमयुक्त स्थान छ त्यही मात्र गर्ने भन्ने विषयमा आवश्यक छलफलवाट समन्वय गरी टुंगो लगाईने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
संक्रमणलाई नियन्त्रणमा लिन दुई सय भन्दा बढी संक्रमित भएको स्थानमा स्थानीय प्रशासनले लकडाउन गर्न सक्ने प्रावधान रहेको छ । पछिल्लो समय बाँकेमा दैनिक सय बढी संक्रमित फेला पर्ने गरेका छन । दैनिकरुपमा संक्रमितहरुको मृत्यु समेत हुनेक्रम नरोकिँदा स्थानीयका साथै सरोकारवालाहरु त्रसीत बनेका छन । जिल्लास्थित स्वास्थ्यकर्मीहरुले संक्रमण नियन्त्रणमा लिन प्रशासनले कडा कदम चालनु पर्ने बताउँदै आएका थिए ।