सरकारी जग्गा ब्यक्तिको नाममा गर्ने फरार व्यक्ति पक्राउ

गुलरिया : बर्दिया प्रहरीले सरकारी जग्गा ब्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । उक्त मुद्दामा ३ महिना कैद सजाय तोकिएर फरार रहेका बढैयाताल गाउँपालिका ३ सिमराका कोपीराज सापकोटालाई इलाका प्रहरी कार्यालय मैनापोखरले बुधबार पक्राउ गरेको हो ।
पक्राउ परेका सापकोटालाई विशेष अदालत काठमाडौंको २०७४ माघ २ गतेको फैसलाले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेर भ्रष्टाचार गरेको ठहर गरेको थियो । प्रहरीले उनलाई सिमराबाटै पक्राउ गरी बर्दिया जिल्ला अदालतमा बुझाइएकोमा अदालतको आदेशले जिल्ला कारागार कार्यालय बर्दिया चलान गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए ।