बर्दियामा दुई सातामा १६ जना अभियुक्त पक्राउ

गुलरिया : बर्दिया प्रहरी दुई सातामा १६ जना अभियुक्तलाई पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक सुशील थापामगरका अनुसार प्रहरीको फैसला कायान्वयन अभियान अन्तगर्त १५ दिनको अवधिमा १६ जना विभिन्न जघन्य अपराध मुद्दाका अभियुक्त पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्त मध्ये ३ जना महिला र १३ जना पुरुष रहेका छन् । उनीहरुलाई बर्दिया जिल्ला अदालत गुलरियामा बुझाइएको छ ।
पक्राउ परेका कसुरदारहरुमध्ये न्यूनतम् कैद अवधि ११ दिनदेखि अधिकतम् २० वर्षसम्म रहेको प्रहरी निरीक्षक थापा मगरले बताए । उनीहरुको कुल कैद भुक्तान अवधि ३२ वर्ष ६ महिना १९ दिन रहेको छ भने ६२ हजार ५ सय रुपैयाँ जरिवाना रहेको छ । पक्राउ परेका मध्ये ४ जना लागू औषध, जबरजस्ती करणी, अप्राकृतिक मैथुन र कर्तव्य ज्यान जस्ता जघन्य अपराध मुद्दाका रहेका छन् ।