वडाअध्यक्ष बेहनाद्वारा भेरी अस्पताललाई २ लाख सहयोग


नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सफिक बेहनाले भेरी अस्पताललाई दुई लाख रुपैयाँ सहयोग गरेका छन् ।
पछिल्लो समय कोरोना महामारीका कारण अस्पतालमा अक्सिजन अभाव भएर बिरामीलाई समस्या हुन थालेपछि बेहनाले व्यक्तिगत तर्फबाट दुई सय सिलिन्डर अक्सिजन खरिदका लागि सो रकम उपलब्ध गराएका हुन् ।
अक्सिजन खरिदका लागि रकम हस्तान्त्रण गर्दै बेहनाले बिहीबार आफूले विभिन्न मिडिया र सामाजिक सञ्जालमा अस्पतालमा अक्सिजन अभावका कारण बिरामीहरु समस्यामा परेको थाहा पाएपछि उक्त रकम सहयोग गरेको बताए । ‘अहिले हामी मुस्लिमहरुको पवित्र महिना रमजान चलिरहेको छ’ उनले भने ‘रमजानमा हामीले अढाई प्रतिशत जकात छुट्टयाएर गरिब असहायहरुलाई दान दिने चलन अनुसार मैले अक्सिजन खरिदका लागि सहयोग गरेको हुँ ।’ उनले रमजानका अवसरमा अस्पतालमा अक्सिजन खरिद जस्तो पवित्र कार्यमा सहयोग गर्न सम्पूर्ण मुस्लिम समुदायलाई आग्रह समेत गरेका छन् ।
कार्यंक्रममा नेपालगन्ज उपमहानगरका नगर प्रमुख डा. धवलशमसेर राणाले कोरोनाका कारण नेपालगन्जका साथै देशमा विकराल अवस्था सिर्जना भइरहेकोले सबैले सहयोग हुनुपर्ने बताए । यो महामारीलाई सब एकजुट भएर सामना गर्न उनले आग्रह समेत गरे । कार्यक्रम भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले अस्पतालमा अक्सिजन प्राप्त गर्न नसकेर छटपटाएर बिरामी मर्न सक्ने अवस्था आएको बताउँदै यस्तो अवस्थामा मनकारी बेहनाले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे । दैनिक तीन लाख रुपैयाँ बराबरको अक्सिजन खपत हुने गरेको बताउँदै उनले अब अस्पतालको स्रोतले धान्न नसक्ने भएको अवस्थामा सबैको हातेमालो हुनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *