लुम्बिनी प्रदेशमा पोखरेलद्वारा दोस्रो पटक मुख्यमन्त्रीको सपथ ग्रहण

नेपालगन्ज : एमाले सांसद शंकर पोखरेल दोस्रो पटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।
आइतबार बिहान पदबाट राजीनामा दिएका पोखरेललाई प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका थिए । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी विपक्षी ४२ सांसदले शपथ रोक्न धर्ना दिएपछि पोखरेलले साँझ नै मुख्यमन्त्रीको कार्यालयमै शपथ लिएका हुन् । पोखरेलले आइतबार बिहान संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्य ४१ जनाको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी पेश गरेका थिए ।

मन्त्रीलाई सपथ ग्रहण

मुख्यमन्त्री पोखरेलको सिफारिसमा यसअघि सरकारका प्रवक्ता र आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका बैजनाथ चौधरी सोही मन्त्रालयमा र प्युठानका हरि रिजाल स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्। रिजाल पहिलोपटक मन्त्री बनेका हुन् । उनीहरु दुबैजनाले शपथ ग्रहण गरेका छन् । यस्तै, जसपाबाट मन्त्री बनेका यसअघिका चारै जना मन्त्री भएका छन्। जसमध्ये सन्तोष पाण्डे र विजय यादवले आज पूर्ववत पदमै सपथ लिए। पाण्डे भौतिक पुर्वाधार विकास र यादव भूमी व्यवस्था तथा कृषि मन्त्रीको रूपमा सपथ लिएका हुन्। यस्तै कल्पना पाण्डे र सुमन शर्मा रायमाझी उपस्थित नभएकोले भोलि उनीहरूको सपथ गराईने मुख्य मन्त्रीको सचिवालयले जनाएको छ।