बाँकेमा २० दिनमा ११० को मृत्यु

लक्ष्मण ढुंगाना । नेपालगन्ज
कोरोना भाइरसका कारण बाँकेमा २० दिनको अवधीमा ११० जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको तथ्यांक अनुसार वैशाख १ देखि २० गते १ बजेसम्म एक सय १० जनाले ज्यान गुमाएका हुन् । यो बाँकेका साथै उपचारका लागि अन्य जिल्लाबाट आएका मृतकको संख्या पनि हो ।
कोरोना भाइरसको पहिलो लहर सुरु भएपछि चैत मसान्तसम्म एक सय ४९ जना संक्रमितको मृत्यु भएको थियो । डीसीसीएमसीको तथ्यांक अनुसार गत वर्षको मृत्युदर हेर्दा विभिन्न जिल्लाबाट बाँकेका अस्पतालमा उपचारका लागि आएका बाहिर जिल्लाका व्यक्तिहरु धेरै थिए भने कोरोनाको दोस्रो लहर सुरु भए यता बाँकेका व्यक्तिहरुको मृत्युदर बढी भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।
कोरोनाबाट गत चैत्र मसान्तसम्म बाँकेका ५८ जनाले ज्यान गुमाउँदा अन्य जिल्लाबाट बाँकेका अस्पतालमा उपचारका लागि आएका ९१ जनाले ज्यान गुमाएका थिए । तर, वैशाख १ गते यता ज्यान गुमाउनेमा अधिकांश बाँकेका भएको र त्यसमा पनि नेपालगन्जका धेरै भएको फोकल पर्सन ओली बताउँछन् ।
यस वर्ष २० दिनको अवधीमा अन्य जिल्लाको तुलनामा बाँकेका तीन गुणा बढीको कोरोनाबाट मृत्यु भएको छ । सोमबार दिउँसो सवा १ बजे यो समाचार तयार पार्दासम्म बाँकेका मात्र ७९ जनाले भाइरस संक्रमणबाट ज्यान गुमाइसकेका छन् । त्यस्तै ३१ जना अन्य जिल्लाबाट बाँकेका अस्पतालमा उपचारका लागि आएका व्यक्तिहरुले ज्यान गुमाएका हुन् । जिल्लाको संक्रमण र मृत्युको तथ्यांक हेर्दा वैशाख ६ गतेदेखि यता संक्रमण तिब्र रुपमा फैलिएको देखिन्छ । त्यसयता परीक्षण गरिएका नमूना मध्ये कुनै दिन ८० प्रतिशत बढीमा पनि संक्रमण देखिएको छ ।
यो तथ्यांक हेर्दा संक्रमण बढेसँगै मृत्युदर पनि बाँकेमा धेरै भएको हो । समुदायमा संक्रमण तिब्र रुपमा फैलिएपछि बाँकेमा पीसीआर परीक्षण गर्नेको संख्या पनि बढेको छ । संक्रमण फैलिने दर हेर्दा वैशाख १ देखि १९ गतेसम्मको तथ्यांक अनुसार परीक्षण गरिएका नमूना मध्ये करिव ५४ प्रतिशतमा भाइरस पुष्टि भएको छ । चैत्र महिनामा बाँकेका २ सय २४ जनामा मात्र संक्रमण पुष्टि भएकोमा यो संख्या वैशाखमा ह्वातै बढेको छ । वैशाख १ देखि १९ सम्म बाँकेका ५ हजार ३९३ जनामा संक्रमण पुष्टि भएको छ । हाल बाँकेमा ३ हजार ८ सय ९६ जना संक्रमित होम आइसोलेसनमा छन् भने ४ सय ५४ जना विभिन्न आइसोलेसनमा रहेका छन् । एक्कासी तिब्र गतिमा संक्रमण बढेसँगै जिल्लाका अस्पतालहरुमा जटिल खालका संक्रमितहरु बढेका छन् ।