कोरोनाबाट डुडुवामा पहिलो मृत्यु

नेपालगन्ज : कोरोना भाइरस संक्रमणका कारण बाँकेको डुडुवा गाउँपालिकामा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ ।

डुडुवा गाउँपालिका–५ का २७ वर्षिय युवाको आज बिहान ४ः४० बजे मृत्यु भएको हो । यसअघि जिल्लाका अन्य सबै पालिकामा कोरोनाका कारण मृत्यु भएपनि डुडुवामा भने भएको थिएन । ‘कोरोना संक्रमणका कारण मृत्यु हुने पालिकामा अव डुडुवा पनि अछुत रहेन’ जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले भने ।
बैशाख १५ गते पीसीआर परीक्षण गरी उपचारका लागि मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि आज बिहान ४ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यस्तै कोरोना सक्रमित नेपालगन्ज–४ का ६० वर्षिय पुरुषको पनि मंगलबार राती ११ः४५ बजे मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बैशाख १० गते मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गरि भेरी अस्पतालमा भर्ना भएका उनको उपचारकैक्रममा हिजो राती मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ । यो सँगै कोरोना संक्रमणका कारण हालसम्म बाँकेका १ सय ४५ जनाले ज्यान गुमाएका छन् ।