सदभावको सहरमा धर्मगुरुले गरे, कोरोना अन्त्यको लागि विशेष पूजा र प्रार्थना

कोरोना महामारी अन्त्यको कामना गर्दै विशेष पूजा अर्चना र प्रार्थना गरेपछि बागेश्वरी मन्दिरमा भेला भएका सबै धर्मका धर्मगुरु र सुरक्षा प्रमुखहरु । फोटो : मेरो खुसी

नेपालगन्ज : सदभावको सहर नेपालगन्जका विभिन्न धर्मका धर्मगुरुहरुले कोरोना महामारी अन्त्यको कामना गर्दै एक साथ आ–आफ्ना धार्मिकस्थलमा विशेष पूजा अर्चना र प्रार्थना गरेका छन् ।
अन्तर धार्मिक तथा सामाजिक सदभाव मञ्च नेपालगन्जको आह्वानमा बुधबार अपरान्ह ४ः३० बजेदेखि ५ बजेसम्म नेपालगन्जका मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वारा र चर्चमा एकै साथ पूजा अर्चना र प्रार्थना गरेका हुन् । शक्तिपीठ बागेश्वरी मन्दिर, मुस्लिमहरुको जामा मस्जिद, बुद्ध धर्मालम्बीले बौद्ध गुम्बा, किश्चियनहरुले ज्योति विकास चर्च र शिख धर्मकाले गुरुद्वारामा आ–आफ्ना धार्मिक विधि अनुसार पूजा र प्राथना गरेका हुन् ।
विशेष पूजा र प्राथनापछि बागेश्वरी मन्दिर परिसरमा भेला भएका महन्त योगी, मुस्लिम मौलाना अब्दुल मौलाना मञ्जरी, बौद्ध धर्मगुरु गुणबहादुर लामा, ज्योति विकास चर्चका पास्टर डम्बरबहादुर थापा र शिख धर्मगुरु राजेन्द्रसिंह सदरदारले आ–आफ्ना धार्मिक अनुयायी र भक्तहरुलाई कोरोनाको बेलामा सकेसम्म घरभित्रै बसेर सुरक्षित रहनु, अत्यावश्यक काममा जाँदा स्वास्थ्यका मापदण्ड पालना गर्न र निषेधाज्ञाको पालना गर्न आग्रह गरेका थिए । उनीहरु सबैको एउटै जोड थियो, ‘हामीले कोरोनाको महामारी धेरै भयो । अब सहन सक्दैनौं । यस्तो विपद्को घडीमा अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई शक्ति मिलोस् । भनेर कामना गरेका छौं ।’
कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले स्वास्थ्यका मापदण्ड पालना गर्न सर्वसाधारणसँग आग्र्रह गरेका थिए ।
कोरोनाबाट निधन भएका व्यक्तिको आत्माको चीर शान्तिको कामना, संक्रमितको शीघ्र स्वास्थ्य लाभको कामना, बिरामीहरुका परिवार र उपचारमा दिनरात खटेका स्वास्थ्यकर्मीसहित सब नेपालीको मनोबल बढाउन द्वीप प्रज्ज्वलन कार्यक्रम आयोजना गर्न लागिएको मञ्चले जनाएको छ ।