नेपालगन्ज-१ ले दियोे होम आइसोलेसनमा बसेका २५ संक्रमितलाई डाक्टरी सेवा

नेपालगन्ज उपमहानगरपालिका १ मा होम आइसोलेनमा संक्रमितको उपचारमा खटिएको डाक्टरसहितको स्वास्थ्यकर्मी टोली । फोटो : विमल चन्दको फेसबुकबाट

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १ ले भने शनिबारदेखि होम आइसोलेसनमा बसेका संक्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ ।
वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा. पारश श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीले धम्बोझीका २५ संक्रमितहरुको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको वडा अध्यक्ष प्रमोद रिजालले बताए । चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरि औषधी तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस गरेपछि वडा कार्यालयले लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने व्यवस्था मिलाइएको छ । अक्सिजन चाहिएमा वडाले घरमै व्यवस्थापन गर्ने, थप उपचार आवश्यक पर्ने संक्रमितलाई उपमहानगरले सञ्चालन गरेका अक्सिजनसहितका आइसोलेसनमा राखिने र गम्भीर विरामीलाई अस्पतालको आइसोलेसनमा रिफर गरिने वडाले जनाएको छ । उपचार गर्न जाँदा संक्रमितलाई स्वास्थ्य तथा हाइजिन किटसमेत उपलब्ध गराइन्छ । नेपालगन्ज १ को होम आइसोलेसनमा मात्र अहिले करिब १५० जना सक्रिय संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले वडा नं. १ मा सुरु भएको चिकित्सकसहितको स्वास्थ्य टोली होम आइसोलेसन पुगेर उपचार गर्ने सेवा नगरका सबै वडामा विस्तार गरिने बताए ।