बर्दियामा थप दुई कोरोना संक्रमितको मृत्यु

गुलरिया : कोरोना संक्रमणबाट बर्दियाको बढैयाताल गाउँपालिकाका दुई जना महिलाको मृत्यु भएको छ ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बढैयाताल-२ की ६० वर्षिया महिलाको आइतबार बिहान ३ः२५ बजे भेरी अस्पतालमा मृत्यु भएको हो । वैशाख १७ गते पीसीआर परीक्षण गरेर रिपोर्ट पोजेटिभ आएपछि उनलाई २२ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसैगरी, बढैयाताल-१ की ३० वर्षिया अर्की महिलाको समेत मृत्यु भएको छ । २१ वैशाखमा कोरोना पुष्टि भएपछि उनलाई सोही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो । आइतबार बिहान ३ः४० मा उनको भेरी अस्पतालमा मृत्यु भएको हो । योसँगै बर्दियामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४१ पुगेको छ । गत वर्ष जिल्लाका १९ जना संक्रमितले ज्यान गुमाएका थिए भने कोरोनाको दोस्रो लहर सुरु भए यता चैत २७ देखि हालसम्म २२ जनाले ज्यान गुमाएको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।