पछिल्लो २४ घण्टामा बाँकेमा हालसम्मकै बढी १७ जनाको मृत्यु

नेपालगन्ज : कोरोना संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टामा १७ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका ९ जना र बाहिरी जिल्लाका ८ जनाको मृत्यु भएको हो । आज मृत्यु हुनेमा बर्दियाका ५, दांङका २ र कैलालीका १ जना छन । यसअघि २३ वैशाखमा सबैभन्दा बढी १६ जनाको मृत्यु भएको थियो । जसमध्ये बाँकेका मात्र १४ जना थिए ।

यसैबीच भर्खरै प्राप्त खबर अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा थप एक जनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका १४ का ६१ वर्षिय पुरुषको बेलुका ५ः५० मा मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सय ८७ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएका एक सय ३९ जनाले बाँकेका अस्पतालमा ज्यान गुमाएका हुन् ।