बर्दियामा पनि खुल्यो अक्सिजन बैंक

गुलरिया : कोरोना महामारीको जोखिममा रहेको बर्दियामा अक्सिजन बैंक स्थापना गरिएको छ ।

दैनिक रुपमा संक्रमितको संख्या बढ्दै जाँदा मृत्युदर पनि बढन थालेपछि जिल्ला विपद व्यवस्थापन समिति बर्दियाको समन्वय तथा जिल्लाका उद्योगी, व्यवसायी, समाजसेवीहरुको सक्रियतामा अक्सिजन बैंक स्थापना गरिएको हो । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्ने नाराका साथ स्थापना गरिएको अक्सिजन बैंकमा अक्सिजन सिलिण्डर सहयोग जुटन थालेको बैंक संचालन समितिका संयोजक भेषराज पौडेलले बताए । ‘अक्सिजन सहयोग जुटन थालेको छ’ उनले भने ‘मानवीय सहयोगका लागि सबैमा अनुरोध गर्दछु ।’
देशभरी अक्सिजनको हाहाकार भै कोरोना संक्रमितहरुले निकै सास्ती व्यर्होनु परेको अवस्थामा जिल्लामा अक्सिजन बैक स्थापना भएसँगै कोरोना संक्रमितहरुको जीवन रक्षा गर्न उपयोगी हुने बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । अक्सिजन बैंकले संक्रमित उपचाररत रहेको बर्दियाको कुनै पनि स्वास्थ्य संस्थालाई अत्यावश्यक परेमा अक्सिजनको खाली सिलिण्डर ल्याएर भरी सिलेण्डर उपलब्ध गराइने जनाएको छ ।
अक्सिजन बैंक सञ्चालनमा सहयोग पुर्याउन देश विदेशमा रहेका सबै सहयोगी हातहरुमा समितिले आग्रह गरेको छ ।