‘स्वास्थ्य आपतकाल’ घोषणा गर्न कांग्रेसको माग

कांग्रेस बाँकेको पदाधिकारी बैठक । फोटो सौजन्य : अर्जुन ओली

नेपालगन्ज : नेपाली कांग्रेसले बाँकेलाई स्वास्थ्य आपतकाल जिल्ला घोषणा गर्न माग गरेको छ ।

कोरोना महामारी नियन्त्रणभन्दा बाहिर गएको भन्दै महामारी नियन्त्रणका लागि बाँकेलाई स्वास्थ्य आपतकाल जिल्ला घोषणा गर्न कांग्रेस बाँकेले सरकारसँग माग गरेको हो । कांग्रेस बाँकेका उपलब्ध पदाधिकारीको सोमबार बसेको बैठकले कोरोना महामारी नियन्त्रण बाहिर जाँदा कोरोना संक्रमित बिरामीहरुले उपचारै नपाएर ज्यान गुमाउनु परिरहेको र अस्पतालले समेत थेग्न नसकिरहेको अवस्थामा सरकारले स्वास्थ्य आपतकाल तत्काल घोषणा गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बाँकेमा फैलिएको कोरोना महामारीप्रति संघीय सरकार र प्रदेश सरकार गम्भीर नै नभएको कांग्रेसको ठहर छ । यस्तै, कांग्रेस बाँकेले जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा अक्सिजन, औषधी र दक्ष जनशक्तिसहितको आइसोलेसन स्थापना गर्न अनुरोध पनि गरेको छ । अस्पतालमा अहिले पनि कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार पाउन नसकेको, अस्पतालमा भर्ना हुनका लागि घण्टौ समय कुर्नु परिरहेको र पहुँच नपुगेका बिरामीले ज्यानै गुमाउनु परेको गुनासो आइरहेको प्रति कांग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
जिल्ला पार्टी सभापति किरण कोइरालाको सभापतित्वमा बसेको उक्त बैठकले कोरोना संक्रमितको निःशुल्क उपचार ब्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । कोरोनाको पीसीआर जाँच प्रक्रिया सहज बनाउनुपर्ने, पीसीआर रिपोर्ट छिटो दिनुपर्ने र गाउँपालिका तथा नगरपालिकास्तरमै स्वाब संकलनको ब्यवस्थापन गर्न पनि कांग्रेसले माग गरेको छ । कांग्रेसले सबै स्वास्थ्य समस्या भएका बिरामीलाई सहज रुपले उपचारको ब्यवस्था मिलाउन अनुरोध गरेको छ । अस्पतालमा अक्सिजन, औषधी, स्वास्थ्यकर्मी र प्राविधिकको दिर्घकालिन ब्यवस्थापन गर्न माग गर्दै कालोबजारी भइरहेको जनगुनासोलाई सम्बोधन गर्न अनुगमनलाई तिब्रता दिन कांग्रेसले सम्बन्धित निकायको ध्यानाकर्षण पनि गराएको छ ।
बाँकेमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि संघीय सरकारलाई दवाब सिर्जना गर्न नेपाली कांग्रेस केन्द्रीय समितिलाई समेत बैठकले अनुरोध गरेको छ । कोभिडका बिरामीको उपचार र अन्य कार्यमा सहयोग गर्न, सचेतना अभियानमा सरिक हुन, कोरोना भाईरसबाट सुरक्षित भएर बस्न कांग्रेस बाँकेले आफ्नो मातहतका सम्पूर्ण भातृ तथा शुभेच्छुक संस्था तथा जनप्रतिनिधिलाई निर्देशन पनि दिएको छ ।
बैठकले कोरोना भाइरसबाट संक्रमित बिरामीको स्वास्थ्य लाभको कामनाका साथै मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेको छ ।