भेरी अस्पतालमा ठडियो लिक्विड अक्सिजन ट्याङ्क

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा लिक्विड अक्सिजन ट्याङ्क जडान गरिएको छ । अस्पतालले दुई साता अघि ट्याङ्क खरिद गरेर ल्याए पनि सोमबार अपरान्ह ट्याङ्क जडान गरेको हो ।
अक्सिजन ट्याङ्क जडान गरिए पनि भारतबाट लिक्विड अक्सिजन भने आइनपुगेको अस्पतालले जनाएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. प्रकाशबहादुर थापाले भारतबाट लिक्विड अक्सिजन ल्याएर भण्डार गरिने २० हजार लिटर क्षमताको ट्याङ्क जडान गरिएको बताए । यसले हाल खरिद भइरहेको सिलिण्डरको तुलनामा कम मूल्यमा ग्यास उपलब्ध हुनुका साथै सहज रुपमा आपूर्ति हुने उनले दाबी गरे । भारतबाट लिक्विड अक्सिजन कहिले आउँछ भन्ने विषयमा भने अझै टुंगो लागेको छैन ।