१६ वर्षीया बालिकासहित २ महिला ब्राउन सुगरसहित पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर
कैलाली प्रहरीले लागूऔषध ब्राउन सुगरसहित एक बालिका र अर्की युवती गरी २ जनालाई पक्राउ गरेको छ । जिल्लामा लागू औषधसहित बालिका पक्राउ परेको सम्भवतः योे पहिलो घटना हो ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लालबहादुर ऐरका अनुसार प्रहरी चौकी कालाकु्ण्डाबाट खटिएको गस्ती टोलीले टीकापुर नगरपालिका ७ कालाकुण्डाबाट सोमबार दिउँसो साढे ४ बजे बैदी घर भएकी १६ वर्षीया राधा पाण्डेय र २४ वर्षीया दिलु पाण्डेयलाई ९ ग्राम ९५० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । लम्कीका एक जना लागू औषध कारोबारीले ३४ हजार रुपैयाँमा भारतको खिरी जिल्लाको तिकुनिया बजारबाट ल्याउन लगाएको ब्राउन सुगर छातीमा लुकाएको अवस्था प्रहरीले फेला पारेको थियो । सुरुमा उनीहरुले तरबुजा खान तिकुनिया बजार गएको बताएका थिए । केही तरबुजा पनि किनेर ल्याएका छन् । प्रहरी चौकी कालाकु्ण्डाका प्रहरी नायव निरीक्षक राजेन्द्रबहादुर कुमालले ५ महिनाको अवधिमा १७ जनालाई लागू औषधसहित पक्राउ गरी कारबाहीका लागि पठाएको जानकारी दिए ।