भेरी अस्पतालका बिरामी र कुरुवालाई खाना खुवाउन द आर्ट अफ लिभिङको ४५ हजार सहयोग

नेपालगन्ज : द आर्ट अफ लिभिङ नेपालले अस्पतालका बिरामी र कुरुवालाई २० रुपैयाँमा खाना खुवाउन ४५ हजार रुपैयाँ सहयोग गरेको छ ।
आर्ट अफ लिभिङ नेपालगन्ज डीसीसी सदस्य जयनारायण शाह र स्वयं सेवक शंकरप्रसाद खनालले अंजनी माता रसोइका व्यवस्थापक जितेन्द्रकुमार सिंह, भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापा, छाला रोग विशेषज्ञ डा.बद्री चापागाई र समाजसेवी प्रशान्त विष्टलाई बिहीबार चेक हस्तान्तरण गरेका हुन् । यसैगरी ललित रौनियारको नेतृत्वमा सञ्चालित वाटर बैंकका लागि पनि द आर्ट अफ लिभिङले २ दिन अघि ५ हजार रुपैयाँ सहयोग गरेको थियो । योग, ध्यान र सेवाको क्षेत्रमा क्रियाशील अध्यात्मिक सामाजिक संस्था आर्ट अफ लिभिङले स्वयं सेवकमा आधारित विश्वका ठूलो संस्थामध्ये एक हो ।
नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा श्री सुन्दरकाण्ड मित्र मण्डल नेपालगन्जले अंजनी माता रसोइ सञ्चालन गरी भेरी अस्पताल परिसरमा गत वर्षको कार्तिकदेखि बिहानको खाना २० रुपैयाँमा खुवाउँदै आएको थियो । कोरोनाको दोस्रो लहर सुरु भएपछि १६ वैशाखदेखि साँझको खाना भने ८० रुपैयाँमा खाना खुवाउन थालिएको थियो । सहयोगी बढेपछि रसोइले जेठ महिना लागे लगत्तै साँझको खाना पनि २० रुपैयाँमा नै खुवाउन थालेको हो । अहिले मनकारी सहयोगीहरु पनि बढेका छन् ।