भेरी अस्पतालको लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा

शंकर अक्सिजन ग्यास प्रालिका प्राविधिक निरज ठाकुरको नेतृत्वको टोली भेरी अस्पतालमा लिक्विड अक्सिजन ग्यास प्लान्टको परीक्षण गर्दै । फोटो सौजन्य : विमल चन्द

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको लिक्विड अक्सिजन प्लान्ट सञ्चालनमा आएको छ ।
भेरी अस्पताल विकास समितिका सदस्य धनराम ओलीका अनुसार शुक्रबार साँझदेखि प्लान्ट सञ्चालनमा आएको हो । शंकर अक्सिजन ग्यास प्रालिका प्राविधिक निरज ठाकुरको नेतृत्वमा रहेको ३ सदस्यीय प्राविधिक टोलीले प्लान्टको सम्पूर्ण काम सफलतापूर्वक सम्पन्न गरेको हो । बिहीबार साँझसम्म नै काम सम्पन्न गर्ने तयारी रहे पनि २ दिनदेखिको वर्षाले काम प्रभावित भएको थियो । २० हजार लिटर क्षमताको प्लान्ट रहे पनि अहिले पूर्ण क्षमतामा सञ्चालनमा आएको छैन । शंकर अक्सिजनका प्राविधिक ठाकुुरले पूर्ण क्षमतामा सञ्चालन हुँदा बढीमा दुई हजार एक सय सिलिण्डर अक्सिजन उत्पादन हुनसक्ने बताए । लिक्विड अक्सिजन प्लान्ट बाँकेमा भेरी र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर, काठमाडौंका त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल ट्रमा सेन्टर, टेकुमा सञ्चालनमा छ ।