यी हुन्, कोरोना कालमा बाँच्ने ११ सुत्र

लेखक : दिला शाह

दिला शाह

भनिन्छ , ‘दिनको संकेत बिहानीले गर्छ’
अचेल हाम्रा हरेक बिहानीहरु उदासीनताले भरिएका छन् ।

हरेक दिन बिहान उठ्ने बित्तिकै अशुभ खबर पढेर, कारुणीक दृश्य हेरेर हाम्रो दिनको सुरुवात हुन्छ । आफन्त प्रियजनको मृत्युको खबरले स्तब्ध बनाउँछ । केही समय अगाडि मात्रै कुरा गरेका, बोलेका ब्यक्तिले एकैछिनमा संसार छोडेको कुरा हावासरी फैलिन्छ । यस्तो कुरा असत्य होस् भनेर कामना गर्दागर्दै पनि आखिरमा त्यो कुरा सत्य हुन्छ ।

अस्पतालमा बिरामीको चित्कार १ बाफरे कल्पना गर्दा पनि मुटु हल्लिन्छ । जताततै भयावह स्थिति छ । अक्सिजन नपाएर मान्छेहरु मरिरहेका छन् । यतिबेलै देशमा राजनीतिक अस्थिरताले चरम सीमा नाघेको छ । बिरामी र अक्सिजनबीचमा पनि राजनीति हुन्छ । एउटा मामुली गरिबले अस्पतालमा राम्रो बेड पाउन गाह्रो छ । अक्सिजन सिलिन्डरमा पनि नेपोटिजम छ । यस्ता घटनाहरु प्रत्यक्ष देखिरहँदा सुनिरहँदा लाग्छ , नेपालको राजनीति र अहिलेको अस्पतालको अवस्थाको हालत एकै भएको छ ।

यस्तो कठिन परिस्थितिमा राम्रो मान्छेलाई पनि भाउन्न हुन्छ । टाउको दुख्न थाल्छ । जताततैका नकारात्मक कुरा र समाचारका दृश्यहरुले कतिपय मानिसहरुमा निराशा उत्पन्न भएर डिप्रेसनमा पनि पुगेका छन् । कोरोना रोगको महामारी सुरु भएदेखि खासमा कोरोना रोगले भन्दा मनोरोगले बिरामी पर्नेको संख्या धेरै नै छ । आत्महत्या, बलात्कार , विभिन्न अपराध , घरेलुु हिंसाका घटनाहरुले मृत्युदरलाई ह्वात्तै बढाएको छ ।

कोरोना काल सुरु भएदेखि अन्य रोगलाई त गन्नै छोडिएको छ । पहिलो पटक संसारमा कोरोना भित्रिंदा देखिएका कोरोनाका लक्षणहरु दोस्रो पटकमा धेरै परिवर्तन भएका छन् । अहिले त रुघा ज्वरो सँगसँगै पखाला लाग्नु, बान्ता हुनु, एलर्जी हुनु , आँखा पोल्नु आदि लक्षण पनि थपिएका छन् । थाहा छैन अब तेस्रो लहर आउँदा अरु के के कुराहरू थपिने हुन् ?

विश्व इतिहासमा यी र यस्ता कुराहरू आउने जाने भइ नै रहन्छन् । मूलतः हामीले आफ्नो मनोबल उच्च राख्नुपर्छ । यो संसारमा हामी केही समयको लागि आएका हौं । हामी बाँच्दासम्म हाम्रो भूमिका समाज र यो विश्वको खातिर जहिले पनि सकारात्मक हुनुपर्छ । केही राम्रो काम गर्नको लागि सधैं तत्पर रहनुपर्छ ।

मृत्यु त हाम्रो अकाट्य छ । चाहे कोरोनाको कारण होस् या अन्य कुनै कारण या त अकारण, जसरी पनि जुनसुकै उमेर र अवस्थामा पनि हामीले यो संसार छोड्न सक्छौ । सबै कुरा हाम्रो हातमा छैन । यदि हामीले गरेर हुने भए, अस्पतालको बेडमा छट्पटी रहेको आफ्नै प्रियजनलाई आफ्नै प्राण दिएर पनि त बचाउँथ्यौ होला, तर सक्दैनौं ।

कतिका मुटुका टुक्रा छोराछोरी गुमेका छन् । कतिका भगवान जस्ता बुवा आमा बितेका छन् । प्रणय प्रेमलाई विवाहमा परिणत गरेको नवयुगल जोडिलाई बिछोड गराएको छ । कतिका मनहरु छिया छिया भएकाछन् । लाखौं करोडौं पैसा बैंक ब्यालेन्स छ तर आफ्नालाई बचाउन सिलिन्डर छैन । अक्सिजन छैन । अझ भनौं संसारमा त्यस्तो कुनै औषधि छैन ।

विश्वका शक्तिशाली देशहरू सारा औषधिको खोज अनुसन्धानमा लागेका छन् । ज्ञान विज्ञानका अस्त्र सस्त्र सबै प्रयोग भएका छन् र पनि मान्छेहरु मरिरहेका छन् । संसार त्रसित छ । विश्वमा त्रासदी छ । मान्छे सुखले बाँच्न सकेको छैन ।

संसारमै सर्वश्रेष्ठ प्राणी ठानेर घमण्ड गर्ने मानिस दुलोभित्र लुकिरहेको छ । संसारका यावत प्राणीहरु निर्वाध रुपमा निस्फिक्री हिडिरहेका छन् । चराको चिरविर गाना उस्तै छ । पखं फिजाएर उडिरहेका छन् । जंगलका सम्पूर्ण प्राणीहरु अझै प्रफुल्ल दौडिरहेका छन् । बगैंचामा फूलहरु निर्धक्क फुलिरहेका छन् । आकास अझै निलो भएको छ । हावा स्वस्थ कञ्चन भएको छ । पानी, ताल तलैया, पार्क र उद्यानहरु झन् सफा भएका छन् तर हामी मानिस, जो सधैं अरुमा राज गर्यौ । जताततै आफ्नो हैकमवादी सत्ता लाद्थ्यौं । रुखहरु काट्यौ । प्रकृतिले निःशुल्क रुपमा दिने अक्सिजन रुपी रुखहरुलाई काट्ने । जंगल मास्ने गरेकै कारण त आज सिलिन्डर र अक्सिजन खोज्दै रुँदैछौ । प्रकृतिको उपहास गर्दाको सजाय आज दस हजार बाह्र हजारमा एउटा अक्सिजन सिलिन्डरको तिरिरहेछौ । यो मानव जातिलाई प्रकृतिले लिएको सजाय जस्तो लाग्छ ।

अहिले मानिसले भोगिरहेको जुन अवस्था छ यो मानव जातिलाई प्रकृतिले दिएको ठूलो सजाय हो । यो सजायबाट पाठ सिकेर हामीले आफ्नो जीवनशैलीमा परिवर्तन र प्रकृतिको संरक्षण गरेनौं भने फेरि पनि हामीले धेरै यस्ता आपत विपद् सहन गर्नैपर्छ । अवस्था र परिस्थिति जे जस्तो भए पनि मानिस वर्तमानमा समयमा संयम र खुसी रहन सक्नुपर्छ जसको लागि निम्न कुराहरू आवश्यक रहन्छन् ः

१ . हाँसो : मुस्कुराएको चेहराले हाम्रो समग्र मूड र जीवनको दृष्टिकोणलाई नै सुधार गर्छ । हाँसो सबैभन्दा राम्रो औषधी हो । मन, शरीर र आत्मालाई शान्त पार्न मुस्कानसहितको व्यवहार गर्न जरुरी छ । बेवजा हाँसौ । बिना कारण मुस्कुराऔं । हाँस्य योग गरौ ।

२. सहयोग : निश्वार्थ रुपमा आवश्यक ठाउँमा सहयोग गरौं । सहयोग पैसाको मात्र हुँदैन । बोलीले , भौतिक रुपमा साथ दिएर, समय दिएर, ज्ञान दिएर, खाद्यान्न आदि कुराले पनि सहयोग गर्न सक्छौ । अहंकार हटाऔं । मानव अहंकार खतरनाक चीज हो किनकि यसले मानिसहरूलाई अरूको आलोचना गर्ने बनाउँछ । यो राम्रो होइन । हरदम निश्वार्थ सहयोगी भावना मनमा राखौं यसले हामीलाई खुसी बनाउँछ ।

३. कृतज्ञ रहौं :  कृतज्ञ हुनु भनेको हाम्रो जीवनमा अझ बढी खुसी हुनु हो । हामीसँग भेटिने, हामीलाई माया गर्ने, नगर्ने हरेक ब्यक्ति प्रति कृतज्ञ रहौं । बिहान उठ्ने बित्तिकै भगवानप्रति कृतज्ञता ब्यक्त गरौं । हरेक पल समय र परिस्थितिप्रति कृतज्ञ रहन सक्नुपर्छ । हामीसँग भएका कुराको लागि धन्यवादी रहन सक्यौ भने हामीलाई आनन्द प्राप्त हुन्छ ।

४. योजना निर्धारण :  हामीले हाम्रा दैनिक योजना बनाउन जरुरी छ । हाम्रा प्राथमिकताहरू के के हुन् ? तदनुरुप योजनाहरु बनाउने बानी छ भने हाम्रो । लक्ष्य प्राप्ति गर्न प्रेरणा प्रदान गर्दछ । योजना अनुरुप अगाडि बढ्न सके मात्र हामी जीवनमा आनन्दित र सफल हुन्छौं । हाम्रो मन विचलित हुँदैन । हामी ब्यस्त हुन्छौं ।

५. दिमागको कसरत : हाम्रो दिमागले प्रायः नकारात्मक कुराहरु सोचिरहन्छ । तसर्थ दिमागलाई सकारात्मक विचारहरूमा ध्यान केन्द्रित गर्न कसरत चाहिन्छ। दिमागको कसरत गर्नको लागि गहिरो ध्यान गर्नु पर्छ । ध्यान गर्ने बानीले नकारात्मक कुराहरूलाई पनि सकारात्मकतामा सहजै बदल्न सकिन्छ । अनि हामीले जताततै सकारात्मक पक्ष देख्छौ । यसले हामीलाई उर्जा दिन्छ र जस्तोसुकै कठिनाइमा पनि बिचलित हुन दिदैन ।

६. संगत :  हाम्रो जीवनमा संगतले ठूलो भूमिका खेल्छ । संगत गुनाको फल भन्ने त भनाइ नै छ । हामीले संगत गर्ने ब्यक्ति कस्तो खालको छ ? यो कुराको विचार गर्नुपर्छ । नकारात्मक सोच भएका ब्यक्तिहरुको संगतले हामीलाई नकारात्मक असर गर्छ । फूलको साथमा सुगन्ध हुन्छ भने, दिसाको साथमा गन्ध हुन्छ । हामीले गन्ध हो कि सुगन्ध हो ? छुट्याएर संगत गर्नुपर्छ । जतिसुकै नकारात्मक देख्ने गर्ने ब्यक्तिको संगत छोडेर सकारात्मक ब्यक्तिसँग मात्रै कुराकानी र साथ गर्नुपर्छ ।

७. शान्ति : जस्तोसुकै परिस्थितिमा पनि आफूलाई शान्त राख्न सक्नुपर्छ । यो बुझ्न जरुरी छ कि जस्तोसुकै समस्या या सुख जुन कुरा पनि स्थिर छैनन् तसर्थ दुखमा आत्तिने सुखमा मात्तिने गर्नुहुँदैन । सबै परिस्थितिमा आफूलाई शान्त राख्नुपर्छ । शान्त रहन सक्ने बानीको विकासले दुःखबाट हुने हानी कम गर्न मद्दत गर्छ। कतिपय दुःखहरूले पनि हामीलाई शिक्षा दिइरहेका हुन्छन् । हरेक परिस्थितिलाई शान्तिपूर्ण तरिकाले सामना गर्नसक्यौ भने हामी विचलित हुँदैनौ ।

८. सोच : सोच सधैं सकारात्मक राखौ । सबै विषयका सबल र कमजोरी पक्ष हुन्छन्। कमजोरी पक्ष हुने भएकाले नै सबल पक्षको अस्तित्व रहेको हो । दुःख नै नहुने भए सुखको महत्त्व हुने थिएन । संसारलाई सुन्दर देख्ने या कुरुप यो सब हाम्रो सोचमा भर पर्छ । हरेक कुराका राम्रा नराम्रा पक्ष हुन्छन् तर सकारात्मक सोच हुने मान्छेले राम्रा कुराहरूलाई दृष्टिगत गर्छ । सोचले नै मानिसलाई भगवान बनाउछ या राक्षस बनाउँछ । राम्रो सोचबाट दैनिकी सुरु गरौं र हरपल राम्रो सोच राखौं ।

९.योग र खाना : खाना जत्तिको आवश्यक्ता छ त्यत्तिकै योग पनि जरुरी छ । स्वस्थ जीवनशैली र स्वस्थ खानाले हाम्रो जीवनमा धेरै नै अस्तित्व राख्दछ । योग र खानाले हाम्रो दिमागलाई सक्रिय राख्न मद्दत गर्दछ । स्वस्थ जीवनशैलीका लागि दैनिक योग, ध्यान, र प्राणायाम गर्न अत्यन्तै आवश्यक छ । कोरोना कालको सबैभन्दा बलियो हतियार नै योग बनेको छ । अब हरेक ब्यक्तिको दैनिकमा योग ध्यान अत्यावश्यक छ । खाना चाँहि भरसक प्राकृतिक ताजा र रेसादार फलफूल युक्त खानु लाभदायक मानिन्छ ।

१०. गीत, संगीत र साहित्य : गीत संगीत मन नपराउने सायद यो संसारमा कमै ब्यक्तिहरु हुन्छन् । एक्लो हुँदा समस्यामा हुँदा हामीलाई मनपर्ने गीत सुनेर आनन्द लिनसक्छौ । साहित्य मन पराउनेहरुले विभिन्न साहित्यिक किताबहरु पढेर ज्ञान लिनसक्छौ । आफूले आफ्ना लेख सिर्जनाहरु तयार गर्नसक्छौ ।

११. ब्यस्तता : ‘खाली दिमाग सैतानको घर’ भन्ने भनाइ छ । हामीले आफूलाई जतिबेला पनि केही न केही काममा ब्यस्त राख्नुपर्छ । आफूलाई रुचि भएका अनेकौं कामहरू हामीले घरमा बसेर पनि गर्नसक्छौ । इन्टरनेटमा धेरै कुराको ज्ञान दिएको हुन्छ । हामीले आफूलाई चाहिएको कुरा त्यसरी नि सिक्नसक्छौ । बस् हामीमा केही राम्रो गर्ने इच्छाशक्ति हुन जरुरी छ ।

सकारात्मक सोचले नकारात्मक कुरालाई हटाएर तनाव कम गर्दछ । फलस्वरूप हाम्रो स्वास्थ्यलाई पनि सुधार गर्न मद्दत गर्छ । अहिलेको यो जटिल अवस्थामा सबैको मन आहत भएको छ । जस्तोसुकै जटिल समयमा पनि सकारात्मक सोचौ । प्रार्थन र विश्वास यी दुबै अदृश्य छन् तर दुबै कुराको ठूलो महत्त्व छ । हामीले प्रार्थना गरौ र यो विश्वास राखौं कि यो समय कठिनाइ चाडै हामीबाट मुक्त भएर जानेछ । धैर्यता राखौ सबै कुरा चाँडै ठिक हुनेछ । कोरोना संक्रमित भएर आइसोलेसनमा बस्दा मैले अनुभव गरेका र लाभ लिएका कुराहरु लेखमार्फत बाँडेकी हुँ । मैले आत्मसात गरेका, मनन गरेका र सिकेका कुरा पक्कै पनि हजुरहरुलाई कोरोनाबाट जोगाउन र चाँडै संक्रमण मुक्त गर्न मद्दत मिल्नेछ भन्ने आशा र विश्वास छ ।