सुन साइँली, साँइली, ‘४० कटेसी कोरोनाको डर !’

बाँकेमा कोरोनाबाट मृत्यु भएका २७४ जनामध्ये ८२ प्रतिशत ४० कटेका छन् । त्यसमा पनि ४१–६० उमेर समूहका सर्वाधिक ४६ प्रतिशतको कोरोनाले ज्यान लिएको छ

नेपालगन्ज : ‘सुन साँइली, साइँली ४० कटेसी रमाउँला’, हेमन्त रानाको बहुचर्चित गीतको ठीक उल्टो छ, बाँकेको कोरोना संक्रमणको उच्च जोखिमको उमेर समूह । कूल मृत्युको ५ भागमध्ये ४ भागभन्दा बढी ४० वर्षभन्दा माथिकोे उमेर समूहका छन् ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १० जेठसम्म जिल्लामा कूल दुई सय ७४ जना व्यक्तिको कोरोनाबाट निधन भएकोमा २ सय २४ जना ४० वर्षभन्दा माथिको उमेर समूहका छन् । जुन कूल मृत्युको ८१.७५ प्रतिशत हो । सबैभन्दा बढी ४१ वर्षदेखि ६० वर्षभित्रका १ सय २६ जनाले ज्यान गुमाएका छन् । यो कूल मृत्युको ४६ (४५.९८) प्रतिशत हो । त्यस्तै ६१ देखि ७५ वर्ष उमेर समूहका ७१ जना (२६ प्रतिशत) र ७५ वर्षभन्दा माथिका २७ जना (१० प्रतिशत) को निधन भएको छ ।
जेष्ठ नागरिक मात्र होइन, कोरोनाको जोखिममा युवा पनि छन् । ११ देखि ४० वर्ष समूहका ५० जनाले ज्यान गुमाएका छन् । जुन कूल मृत्युको १८.२४ प्रतिशत हो । यो उमेर समूहमा पनि २० वर्षदेखि ४० वर्ष समूहका ४८ जनाले ज्यान गुमाएका छन् । जुन कूल मृत्युको १७.५१ प्रतिशत हो भने । बालबालिका भने कोरोनाको जोखिममा कम परेका छन् । अहिलेसम्म ११ देखि १९ वर्ष समूहमा २ जनाको ज्यान गएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।