बर्दियामा जेठको २० गतेसम्म र बाँकेमा १७ गतेसम्म थपियो निषेधाज्ञा
नेपालगन्ज : बाँके र बर्दियामा निषेधाज्ञा थप गरिएको छ ।
बाँकेमा जारी निषेधाज्ञा १७ जेठसम्मका लागि थप गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा सोमबार जारी आदेशमा उल्लेख छ । दैनिक उपभोग्य बस्तु खरिदका लागि समय भने बढाइएको छ । वैशाख १३ गतेदेखि जारी निषेधाज्ञामा यसअघि बिहान ६ बजेदेखि ९ बजेसम्म पसल सञ्चालन गर्न दिइएकोमा अब बिहान ७ बजेदेखि ११ बजेसम्मको समय दिइएको छ । खेतीपातीको समय शुरु भएकाले विउविजन, विषादी र कृषि यन्त्र पाइने पसल पनि अब स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालन गर्न पाइनेछ ।
त्यसैगरी बर्दियामा जारी निषेधाज्ञा २० जेठसम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारद्वारा जारी सूचनामा उल्लेख छ । तिब्र रुपमा बढिरहेको कोरोना प्रकोपको साङलो तोड्नका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।