स्वास्थ्यकर्मीमाथि हातपातको विरोधमा भेरी अस्पतालमा प्रर्दशन

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जमा कार्यरत चिकित्सक र नर्समाथि बिहीबार राति भएको आक्रमणको विरोधमा स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।
बिहीबार राति कोरोना संक्रमित दाङका ५४ वर्षीय एक व्यक्तीको उपचारका क्रममा निधन भएपछि मृतकका आफन्तले अस्पतालको आइसीयु वार्डमै प्रवेश गरी चिकित्सक तथा नर्सहरुमाथि कुटपिट गरेका थिए । बिरामीको उपचारमा संलग्न रहेकै अवस्थामा ज्यान मार्ने गरी आक्रमण भएपछि ड्यूटीमा रहेका डा. चन्द्रप्रकाश साहु, नर्स सदीक्षा गैरे, आश्विनी गुरुङ, रिता अधिकारी र कविता पुनमाथि अस्पतालको कोभिड वार्ड रहेको माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाएका थिए ।


कोरोना महामारीको समयमा ज्यान नै जोखिममा राखेर बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै चिकित्सक तथा स्वास्थ्यकर्मी कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन् ।


घटनाको छानबिनका लागि भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले बिहीबार राति सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति बनाएको छ । यता बाँके प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिएको जनाएको छ । आन्दोलनरत स्वास्थ्यकर्मीहरुले पूर्ण रुपमा सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन् ।