यही झ्यालबाट हो, डाक्टर र नर्सले हाम फालेर ज्यान बचाएको

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका एक जना डाक्टर र ४ जना नर्सले २ तलामाथिको शौचालयको झ्यालबाट हाम फालेर ज्यान बचाएको खबर बिहीबार रातिदेखि शुक्रबार दिनभर सनसनी रुपमा फैलियो ।
कोरोना संक्रमितको मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरबाही भएको भन्दै आक्रमणमा उत्रिएपछि स्वास्थ्यकर्मी २ तला माथिबाट हाम फालेका थिए । डाक्टर र नर्सले हाम फालेकै हुन त भनेर कतिलाई अचम्मै लागेको पनि हुनसक्छ । भेरी अस्पतालको इमरजेन्सीबाट पश्चिममा प्रसुती वार्डको माथिल्लो तलामा २ वटामा आइसोलेसन वार्ड छ । त्यसमा पनि पश्चिमी ब्लकमा रहेको यो शौचालय कति उचाइमा छ भनेर पनि जिज्ञासा हुनसक्छ । एउटा घरको उचाइभन्दा अग्लो स्थानमा छ, यो शौचालय । जहाँ अल्मुलियमको ढोका छ । ‘सिमसिमे पानी परिरहेको थियो । तल अध्यारो थियो । कति गहिरो थियो, थाहा थिएन । ज्यान जोगाउन हाम फाल्यौं’, स्टाफ नर्स अश्विनी गुरुङले शुक्रबार रातिको घटना सम्झिन् । सुरुमा कविता पुनले हाम फालेकी थिइन् । दोस्रोमा रिता अधिकारी कुदिन । त्यत्तिबेलासम्म आक्रमणकारीले शौचालयको ढोका फोडिसकेको थाहा पाएपछि डा.चन्द्रप्रकाश साहु, स्टाफ नर्सद्वय सदीक्षा र अश्विनी गुरुङले सँगै हाम फालेका थिए । त्यत्ति बेला रातिको ९ बजिसकेको थियो ।