३० रुपैयाँमा सादा खाना, ८० रुपैयाँमा मासुभात !

भान्साघरमा एमाले कार्यकर्ताहरु । फोटो सौजन्य : जावेद अन्सारी

नेपालगन्ज : एक छाक सादा खानालाई कति रुपैयाँ पर्छ ? होटल रेष्टुरेन्टमा त एक सय रुपैयाँमा पनि सादा खाना कतै पाइँदैन तर बाँकेमा ८० रुपैयाँमा मासुभात पाइन्छ ।

कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका कोरोना संक्रमित र कुरुवालाई लक्षित गरी नेकपा एमाले (नेपाल समूह) बाँके जिल्ला कमिटीले सहुलियत दरमा खाना खुवाउने भान्साघर सुरु गरेको हो । खानामा दाल, भात, तरकारी, माछा, मासु र अण्डा हुन्छ । ‘सादा खाना ३० रुपैयाँमै पाइन्छ । कुखुराको मासु खान थप ५० रुपैयाँ र खसीको मासुका लागि थप ७० रुपैयाँ लाग्छ । अण्डा खानेलाई थप १५ रुपैयाँ जोडिन्छ’, भान्साघरको स्वयंसेवामा जुटेका युवा संघका नेता दीपक जीएम भन्छन्, ‘मासु खानामा लागत मात्र जोडिएको छ । नाफा कमाउने भन्दा पनि सेवाका हिसाबले सुरु गरिएको हो ।’

एमाले जिल्ला अध्यक्ष अशोक कोइरालाका अनुुसार बिहान ९ देखि मध्यान्न १२ बजेसम्म र बेलुका ६ बजेदेखि ९ बजेसम्म सञ्चालन हुने भान्साघरको खर्च दैनिक ३० हजार रुपैयाँ छ । खानामा लाग्ने सबै खर्चको व्यवस्थापन पार्टी निकट रहेका र पार्टीलाई सहयोग गर्दै आएका व्यापारी तथा शुभेच्छुकबाट सम्भव भएको कोइराला बताउँछन्। केएल दुगडले चामल र दाल सहयोग गरेको छ भने अन्य व्यापारीले खाने तेल, ग्यासलगायतको सहयोग गरेका छन् । सञ्चालनको २२ दिनमा यो भान्साघरले अहिलेसम्म ५ हजार ५ सयभन्दा बढी व्यक्तिलाई खाना खुवाइसकेको छ । निषेधाज्ञाका कारण होटलहरु बन्द हुँदा बिरामी र कुरुवाले अप्ठ्यारो झेल्दै आएपछि भान्साघर सुरु गरिएको थियो । सल्यान मार्केका गुरुवा चौधरीले भान्साघरबाट सस्तोमा मिठो खाना पाएको भन्दै खुसी व्यक्त गरेका छन् । एमाले युवा संगठन युवा संघ नेपालको स्थापना दिवसको अवसर पारेर गत १ जेठदेखि सुरु भएको भान्साघर कम्तीमा पनि असार मसान्तसम्म सञ्चालन गरिने एमाले बाँकेले जनाएको छ ।