बाढी प्रभावित बाँकेमा मनसुन पूर्वतयारीमा जुटे सरोकारवालाहरु

नेपालगन्ज : बाँकेमा मनसुन अघि नै बाढी पूर्वतयारीका लागि स्थानीय तहलगायतका सरोकारवाला मनसुनको पूर्वतयारीमा जुटेका छन् ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेको हालै सम्पन्न बैठकले मनसुन अघि नै वडा तहदेखि स्थानीय तह हुँदै र जिल्ला स्तरको तयारीमा जुट्ने निर्णय गरेको हो ।

विपद् प्रभावितलाई आपतकालिन अवस्थामा प्रयोग गरिने सुरक्षित स्थलमा स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार पूर्वतयारी गर्ने तयारी भएको छ । स्थानीय तहको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना जेष्ठ मसान्तभित्रै निर्माण तथा अद्यावधिक गर्ने निर्णय भएको छ । योजना निर्माण तथा अद्यावधिकका लागि स्थानीय तह पिच्छे प्राविधिक सहयोग तथा सहजीकरण गर्न सरोकारवाला निकायलाई जिम्मेवारी तोकिएको जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । ज्ञवालीका अनुसार नेपाल रेडक्रस सोसाइटीले खजुरा गाँउपालिका र डुडुवा गाँउपालिका, सेभ दि चिल्ड्रेनल नेपालगज उपमहानगरपालिका, जानकी गाँउपालिका, राप्तीसोनारी गाँउपालिका, भेरी वातावरणीय विशिष्ट समूहले कोहलपुर नगरपालिका, बैजनाथ गाँउपालिका र नरैनापुर गाँउपालिकामा प्राविधिक सहयोग तथा सहजीकरण गर्नेछन् ।
स्थानीय तहको वडा स्तरसम्म नै विपद् व्यवस्थापन समिति गठन र पुनर्गठन गर्ने, र आवश्यकता अनुसार विपद प्रतिकार्य कार्यदल समेत तयार गर्ने निर्णय भएको छ । मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि स्थानीय मिडियामार्फत जनचेतनामूलक सामग्री प्रकाशन र प्रसारण हुनेछ । जिल्लामा रहेको खोज तथा उद्दारका क्रममा प्रयोग हुने सामग्रीको जीपीए पहिचान गरे बमोजिम आवश्यक सहयोगका लागि विभिन्न संघसंस्था, रेडक्रस र संघीय, प्रदेश तथा स्थानीय तहहरुलाई आवश्यक सहयोगका लागि अनुरोध गर्ने निर्णय भएको छ ।
जिल्ला तथा स्थानीय तहमा रहेका सवै प्रकारको खोज तथा उद्धार सामाग्री, जनशक्तिको विवरण आदिको अद्यावधिक गरी जिल्ला आपतकालिन कार्यसन्चालन केन्द्रमा जानकारी पठाउने। तत्कालै प्रयोगमा आउने गरी चुस्त दुरुस्त अवस्थामा तयार गरी राख्ने ।साथै सवै स्थानीय तहहरुले जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरि बाढीको कृतिम अभ्यास गर्ने निर्णय पनि भएको छ ।