निषेधाज्ञाले रोकियो बालविवाह मुक्त वडा घोषणा

खजुरा गाउँपालिका ३ लाई बालविवाह मुक्त वडा घोषणा कार्यक्रम । फाइल फोटो

शंकरप्रसाद खनाल । नेपालगन्ज
बाँकेको बैजनाथ गाउँपालिकाको वडा नं. ५ ले गत १० वैशाख ०७८ मा बालविवाह मुक्त वडा घोषणाको तयारी गरेको थियो । कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेपछि ९ वैशाखदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा देशमै पहिलो पटक निषेधाज्ञा जारी गरियो । त्यसैको प्रभाव, बैजनाथ ५ को बालविवाह मुक्त घोषणा कार्यक्रम अनिश्चित कालका लागि स्थगित भयो । ‘हाम्रो तयारी पूरा भइसकेको छ । ५ वैशाखमा वडा बाल संरक्षण समितिको बैठक बसेर १० वैशाखमा निर्णय गरिएको थियो । टोलटोलमा सर्भेका काम पनि पूरा भइसकेको थियो । कोरोनाका कारण रोकियो’, वडा अध्यक्ष मनबहादुर खत्री भन्छन्, ‘हामी तयारी अवस्थामा छौं । कोरोनाको अवस्था सामान्य हुने बित्तिकै बालविवाह मुक्त वडा घोषणा गरिनेछ ।’
बैजनाथ गाउँपालिकाको वडा नं. १ मा जिल्लामा दोस्रो बालविवाह मुक्त वडा घोषणा गरिएको थियो । घोषणा सभामा गाउँपालिका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले जिल्लामै पहिलो बालविवाह मुक्त स्थानीय तह घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।

बैजनाथ-१ लाई बालविवाह मुक्त घोषणा गरिँदै । फाइल फोटो

कोहलपुर नगरपालिकाको वडा नं. १ र ३ को बालविवाह मुक्त वडा घोषणा कार्यक्रम पनि निषेधाज्ञाका कारण पछाडि धकेलिएको थियो । कोहलपुर १ ले पनि १० वैशाख २०७८ मा बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी गरेको थियो । वडा अध्यक्ष गोपीलाल खनाल पनि कोरोना संक्रमणबाट सहज वातारण बनेमा बालविवाह मुक्त वडा घोषणा गर्ने बताउँछन् । ‘हामी त पूर्ण रुपमा तयारी अवस्थामा थियौं । हाम्रो कारणले रोकिएको होइन । कोरोना महामारीले प्रभावित भएको छ । यो वर्ष सम्भव नभए अर्को आर्थिक वर्षको सुरुमै भए पनि घोषणा कार्यक्रम गर्नेछौं ।’

कोहलपुर नगरपालिकाले वडा नं. १२ र १३ लाई यस अघि नै २० चैत्र २०७७ मा बालविवाह मुक्त वडा घोषणा गरिएको थियो । कोहलपुर नगरपालिका जिल्लामै एकै दिन २ वटा वडा बालविवाह मुक्त वडा घोषणा गर्ने पहिलो पालिका बनेको छ । जिल्लामा बालविवाह मुक्त वडा घोषणा गर्ने कोहलपुर तेस्रो स्थानीय तह हो ।

जानकी गाउँपालिकाको वडा नं. ४ बालविवाह मुक्त घोषणा

जिल्लामा ३१ चैत्र ०७७ मा जानकी गाउँपालिका गाउँपालिकाको वडा नं. ४ पनि बालविवाह मुक्त घोषणा भएको थियो । घोषणा कार्यक्रममा गाउँपालिका अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धिताल र प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले गाउँपालिकाका ६ वटा मात्र वडा भएकाले जिल्लामै सबैभन्दा पहिले बालविवाह मुक्त स्थानीय तह घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए । बाँके जिल्लामा सबैभन्दा पहिले गत २४ फागुन ०७७ मा खजुरा गाउँपालिकाको वडा नं. ३ जिल्लामै पहिलो बालविवाह मुक्त वडा घोषणा गरिएको थियो ।
जिल्लाका ८ वटै स्थानीय तहमा कम्तीमा एउटादेखि बढीमा आधा दर्जन वडामा वडामा बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी थियो । कोरोना कहरले नेपालगन्ज उपमहानगरपालिकाको वडा नंं. २, १० र १२ लाई पनि बालविवाह मुक्त वडा घोषणा गर्ने कार्यक्रम प्रभावित भएको थियो । गत वैशाख महिनाभित्रै यी वडा बालविवाह मुक्त घोषणा गर्ने तयारी थियो । स्याक नेपाल बाँकेका बालविवाह रोकथाम परियोजनाका प्रबन्धक जगदीश थापा भन्छन्, ‘गत वर्ष कोरोनाकै कारण बालविवाह मुक्त वडा घोषणा कार्यक्रम प्रभावित भएको थियो । यो वर्षको सुरुदेखि कोरोनाको दोस्रो लहरले फेरि बालविवाह मुक्त घोषणा कार्यक्रम स्थगित भएका छन् । गत वैशाखसम्म कम्तीमा पनि १७ वटा वडा बालविवाह मुक्त वडा घोषणा कार्यक्रम गर्ने तयारी थियो ।’ प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले जिल्लाका ८ वटै स्थानीय तहमा बालविवाह रोेकथाम परियोजना सञ्चालन गरेको छ । परियोजनाको सहयोगमा सुरुमा वडा, त्यसपछि स्थानीय तहहुँदै बाँकेलाई नै बालविवाह मुक्त जिल्ला घोषणा गर्ने लक्ष्य छ ।