सरकारद्वारा स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी अध्यादेश जारी, आन्दोलनरत स्वास्थ्यकर्मीद्वारा स्वागत

नेपालगन्ज : सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ मा कैद र जरिवाना बढाएर ऐन संशोधन गर्दै अध्यादेश जारी गरेको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको अध्यादेशमा स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने र स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । कसैले पनि स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, तालाबन्दी, घेराउ र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीमाथि कुपपिट, धम्की, गालीगलौज, अपमानजनक व्यवहार गरे दण्डनीय हुने व्यवस्था अध्यादेशमा छ ।
कोरोना संक्रमितको उपचारका लागि खटिएका भेरी अस्पताल नेपालगन्जका स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि बाँकेलगायत देशभरकै स्वास्थ्यकर्मी आन्दोलित भएका थिए । सरकारले अध्यादेश जारी गरेपछि बाँकेमा आन्दोलनरत स्वास्थ्यकर्मीले आइतबार साँझ खुसीमा दीपावली गर्दै आन्दोलनका कार्यक्रम रोकेका छन् । नेपाल नर्सिंग संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी ओली, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा.विनोद कर्ण र भेरी अस्पताल कर्मचारी युनियनका अध्यक्ष होमनाथ सुवेदीले माग पूरा भएको भन्दै भेरी अस्पताल परिसरमा अध्यादेशको स्वागत गर्दै आन्दोलनका कार्यक्रम रोकेको बताएका थिए । त्यसपछि नेपालको झन्डा आकारमा मैनबत्ति बालेर स्वास्थ्यकर्मीले खुसीयाली मनाएका थिए ।