२२ सयको अक्सिमिटरलाई ७० प्रतिशत नाफा खाएर बेच्ने औषधि पसललाई २ लाख जरिवाना

नेपालगन्ज : अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने नेपालगन्जको एक औषधि पसललाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगन्जका सूचना अधिकारी देवीलाल चौलागाईका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज नजिकको इशा मेडिकल हलले दुई हजार दुई सय रुपैयाँ परेको अक्सिमिटर तीन हजार एक सय रुपैयाँमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । खरिद मूल्यमा २० प्रतिशतभन्दा बढि नाफा लिन नपाइने कानुनी व्यवस्था छ । अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगन्जकै गौरी मिनी मार्ट र मेचीकाली सप्लायर्सलाई जनही २० हजारका दरले ४० हजार जरिवाना गरेको थियो । त्यसैगरी खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब ६ हजारभन्दा बढी मूल्य बराबरको खाद्य सामग्री नष्ट गरिएको थियो ।