बालविवाहले छुट्यो पढाइ

बालविवाह गरेर २० वर्षमा २ सन्तानकी आमा बनेकी राप्ती सोनारी ६ गुलरीकी सीतासँग कुरा गर्दै जनसिद्धेश्वर बहुमुखी क्याम्पसका अनुसन्धान टोलीका सदस्य टेकराज पंगाली । फोटो सौजन्य : लोकमणि बटाला

शंकरप्रसाद खनाल । फत्तेपुर (बाँके)
राप्ती सोनारी ६ गुलरीकी सीता (नाम परिवर्तन) ले पनि ७ कक्षामा पढ्दा पढ्दै अन्तरजातीय विवाह गरिन् । १५ वर्षमा विवाह गरेकी उनको पहिलो सन्तान १८ वर्ष र दोस्रो सन्तान २० वर्षका जन्मे । विवाहपछि उनले पढाइलाई निरन्तरता दिन सकिनन् । ‘सपनामा सधैं एसईई दिइरहेको देख्छु’, उनले विवाह गरेर पढाइ छुटेकोमा पछुतो मान्दै भनिन्, ‘विवाहपछि चाहना हुँदै हुँदै पनि पढ्न सकेकी छैन ।’
राप्ती सोनारी ६ हब्रहवाकी पुष्पा (नाम परिवर्तन)ले पनि १५ वर्षको उमेरमा विवाह गरिन् । तिहारमा भैली खेल्दा गाउँकै युवाको प्रेममा परेकी थिइन् । उनीहरुले भागेर विवाह गरे । उनी अहिले एक सन्तानकी आमा बनेकी छन् । ‘पतिले कर गरेर जेनतेन एसईई उत्तीर्ण गरे । त्यसपछिको पढाइलाई निरन्तरता दिन सकेन’, उनी भन्छिन्, ‘पढ्ने मन त छ । तर के गर्ने ? अब त बच्चालाई समय दिनुपर्ने भएकाले पनि पढ्ने समय नै पाउँदिन ।’
राप्ती सोनारी गाउँपालिका ६ गुलरीकी १७ वर्षीया सरस्वती (नाम परिवर्तन)ले ७ कक्षामा पढ्दा पढ्दै भागेर विवाह गरिन् । ६ महिनाको माया प्रेमलाई उनीहरुले विवाह बन्धनमा परिणत गरे । विवाहपछि उनले पढाइलाई निरन्तरता दिन सकिनन् । कलिलो उमेरमा गरेको निर्णयले उनी अहिले पछुतोमा छिन् । ‘तीन महिनामै बच्चा खेर गयो’, उनले भनिन्, ‘अहिले पनि पेट दुखिरहन्छ । डाक्टरलाई दुई तीन वर्ष बच्चा नजन्माउन भनेका छन् ।’
बाँकेको राप्ती सोनारी गाउँपालिकाका पुष्पा, सीता र सरस्वती त प्रतिनिधि पात्र मात्र हुन् । यी जस्तै थुप्रै छात्राले माध्यमिक तहको पढाइ पनि पूरा नगर्दै भागेर विवाह गरे । उनीहरुको पढाइ रोकियो । बाँकेको राप्ती सोनारी गाउँपालिका ६ हब्रहवाको जनसिद्धेश्वर बहुमुखी क्याम्पसले हालै गरेको बालविवाहको अवस्था र यसले बालिका शिक्षामा पारेको असरबारे गरेको अध्ययनमा माध्यमिक तहमा विद्यार्थीको ड्रप आउटको कारणमध्ये बालविवाहलाई पनि देखाएको छ । सिद्धेश्वर मावि र अमरज्योति माविमा अध्ययन गरेका विद्यार्थीमा आधारित यो अध्ययनले बालविवाह गरेका अधिकांशले पढाइलाई निरन्तरता दिन नसकेको देखाएको छ ।

सिद्धेश्वर माविमा ०७४ देखि ०७७ सम्म ३ आर्थिक वर्षमा कक्षा ८, ९ र १० मा भर्ना भएका १ हजार २ सय १५ कूल विद्यार्थीमध्ये १ सय २५ विद्यार्थी ड्रप आउट भएका छन् । जुन ३ शैक्षिक शत्रमा ३ वटा कक्षामा भर्ना भएका विद्यार्थीको १०.२८ प्रतिशत हो । विद्यालयमा सबैभन्दा बढी विद्यार्थी कक्षा ९ मा ९० जना ड्रप आउट भएको अध्ययनमा संलग्न क्याम्पस प्रमुख लोकमणि बटालाले बताए । जुन कक्षा ९ का १९.२३ प्रतिशत विद्यार्थी ड्रप आउट हो । ड्रप आउट भएकामध्ये २० जनाको बालविवाह भएको थियो । जुन कूल ड्रप आउट विद्यार्थीको १६ प्रतिशत बालविवाहबाट भएको देखिन्छ । अमरज्योति मावि लालपुरमा पनि कक्षा ९ मा भर्ना भएका विद्यार्थीमध्ये १० जना ड्रप आउट भएका छन् । विद्यार्थी ड्रप आउट हुने कारणमध्ये बालविवाह, गरिबी र अशिक्षा रहेको अध्ययनले देखाएको अर्का अनुसन्धानकर्ता टेकराज पंगालीले बताए । बालविवाहका कारण ड्रप आउट बढेपछि विद्यालयले बालविवाह विरुद्धका कार्यक्रम सञ्चालन गरिरहेका छन् । बालविवाह गरेकाहरुमध्ये निकै थोरैले मात्र पुनः पढाइलाई निरन्तरता दिन सकेका छन् । यसरी बालविवाह गर्नेहरु कलिलैमा आमा बनिरहेको पनि यो अध्ययनले देखाएको छ । कम्तीमा १४ वर्षकै उमेरमा सन्तान जन्माएकोे पाइयो । शारीरिक विकास नहुँदै सन्तान जन्माउँदा त आमा र बच्चा दुुबैको स्वास्थ्यमा समस्या हुने स्वास्थ्यकर्मीहरु बताउँछन् । औसत रुपमा १७ वर्षभित्रै बालविवाह गर्ने गरेको पाइए पनि कम्तीमा १३ वर्षदेखि बढीमा १९ वर्ष उमेर समूहका छात्राको विवाह भएको यो अध्ययनले देखाएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले राप्ती सोनारी गाउँपालिकामा बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ । परियोजना प्रबन्धक जगदिश थापा गाउँपालिकामा नीति र कानुनी रुपमा बालविवाह रोकथाम र अन्त्यका लागि पहल भएको बताउँछन् । राप्ती सोनारीमा किशोरी क्लब गठन गरेर उनीहरुको क्षमता अभिवृद्धि गर्ने काम भएको छ । थापा भन्छन्, ‘राप्ती सोनारीका वडा नं. ६ र ७ लार्ई बालविवाह मुक्त घोषणा गर्ने तयारीका साथ हामीले काम गरिरहेका छौं ।’