‘खाद्य बैंक’को राहातले विपन्नलाई दियो खुसी

मुरली गोडिया । गुलरिया
कोरोनाका कारण लगाइएको निषेधाज्ञा थपिँदै जाँदा बर्दियाको गुलरियामा सञ्चालित खाद्य बैंक विपन्नलाई वरदान साबित भइरहेको छ ।
गुलरिया नगरपालिकासँग सहकार्यमा हिन्दु स्वयंसेवक संघ नेपाल, लायन्स क्लव अफ बर्दिया र एन्टा अमेरिकालगायतका सामाजिक संस्थाले कोरोना महामारीमा रोगले मात्र होइन भोकले पनि कोही नमरुन् भन्ने पवित्र उद्देश्यले खाद्य बैंक सुरु गरेका हुन् ।
लायन्स क्लब अफ बर्दियाका अध्यक्ष सुधाकर मिश्र हुनेले दिउन नहुनेले लैजाउन भन्ने हेतुले खाद्य बैंकले प्रति परिवार २० किलो चामल, २ किलो दाल, ५ किलो पिठो, आधा लिटर तेल, २ वटा साबुन र ५ ओटा मास्क सहयोग गरिरहेको बताए । खाद्य बैंकमा सहयोगी भावना भएका जोसुकैले आर्थिक तथा खाद्यान्न सहयोग गर्न सक्ने मिश्र बताउँछन् ।
हिन्दु स्वयंसेवक संघ नेपाल, नेपालगन्जका संवाहक राजेन्द्रकुमार यादवले टोलटोलमै पुगेर अतिविपन्न तथा छाक टार्न मुस्किल हुने परिवारको नामावली संकलन गरेर सहयोग गरिरहेको प्रष्ट पारे । खाद्यान्न वितरणका लागि गुलरिया नगरपालिकाले गाडी उपलब्ध गराएको छ । रोगजारी गुमेको अवस्थामा दैनिक ज्यालादारी गरि जीवन निर्वाह गर्नेहरुलाई खाद्य बैंकको सहयोगले राहत दिएको लाभान्वित भएकाहरु बताउँछन् । गुलरिया नगरपालिका ७ का हरिराम भुजुवा भन्छन्, ‘कोरोनाले खाद्यान्नको समस्या भइरहेको थियो । बिहान बेलुकाको छाक टार्न धौधौ भएको बेला खाद्यान्न पाउँदा निकै खुसी लागेको छ ।’