नेपालगन्जमा लक्ष्यको ९९ प्रतिशतले लगाए कोरोना खोप

नेपालगन्जमा जेष्ठ नागरिक कोरोनाविरुद्धको भेरोसेल खोप लगाउँदै । फोटो सौजन्य : तेज ओली

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकामा बुधबार लक्ष्यको ९९ प्रतिशतले कोरोनाविरुद्धको भेरोसेल नामको खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगन्जमा २ हजार ३७ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा २ हजार ३५ जनाले खोप लगाएका हुन् । जिल्लाका ८ वटा स्थानीय तहमा भने बुधबार लक्ष्यको ७४ प्रतिशतले मात्र खोप लगाएका थिए । जिल्लाभरी ७ हजार ९ सय २९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ५ हजार ८ सय ५९ जनाले खोप लगाएको कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए । जिल्लामा ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहलाई ८ वटै स्थानीय तहका ८७ वटा खोप केन्द्रबाट खोप लगाइँदैछ ।