वर्षासँगै किसानलाई चैते धान भित्र्याउन चटारो

मानबहादुर ठकुल्ला । भजनी
वर्षातको शुरुवातसँगै अधिकांश किसानलाई रोपाइँको चटारो भइरहेका बेला कैलालीको भजनीका किसानलाई भने यतिखेर चैते धान भित्र्याउने चटारो छ । किसान फागनु, चैत महिनामा रोपेको धान घर भित्र्याउने कार्यमा व्यस्त छन् । भजनीका किसान एकातिर धान भित्र्याउँदै छन् भने अर्कोतर्फ बर्खे धान रोप्ने तयारीमा समेत जुटेका छन् ।
फागुनदेखि चैतको पहिलो सातासम्म रोपाइँ गरिसकेका किसान घरघरमा धान भित्र्याउनमा व्यस्त छन् । अधिकांश किसानलाई चैते धानबाली भित्र्याई बर्खे धान बाली लगाउनुपर्ने, भजनीका केही क्षेत्रमा डुबानको समस्या हुने भएकाले किसानलाई अहिले धान भित्राउन हतार भएको हो ।
भजनी नगरपालिका–७, चर्राका मनिराम चौधरी चैते धान भित्र्याउनमा व्यस्त छन् । उनी हरेक वर्ष १० कठ्ठामा चैते धान रोप्छन । उनको ५ जनाको परिवारलाई त्यही १० कठ्ठामा फलेको चैते धान वर्षभरीका लागि खान पुग्छ।
भजनी नगरपालिका–८ सुनाफाँटाका किसान कृष्णलाल धमलाले यस वर्ष करिब दुई बिघा क्षेत्रफलमा चैते धान खेती गरेका छन् । उनको धान अहिले पाकेर सुन झैँ पहेंलो देखिएको छ । ‘पाकेर तयार भएको धान समयमा घरमा भित्र्याउन भ्याइनभ्याइ छ । अर्कोतर्फ कतै वर्षा हुन्छ कि भन्ने डर त्यत्तिकै छ । तयारी भएको धान वर्षात्अघि भित्र्याउनु पर्ने भएकाले हामी धान काट्नमा व्यस्त छौँ’, धमलाले भने, ‘खेतमा पानी पसिसकेको छ ।’ केही वर्षयता चैते धान नै यहाँको मुख्य अन्न बनेको छ ।
अर्का किसान जयराज ढुङ्गानालाई पनि धान समयमै भित्र्याउन उत्तिकै हतार छ । उनले १० कठ्ठा जमीनमा अन्न जोहोका लागि लागि चैते धान रोपेका छन् । चैते धान तयारी अवस्थामा रहेको र मौसममा प्रतिकूलता देखिएकाले धानको रोपाईँभन्दा धान भित्र्याउनमा हतार भइरहेको उनको भनाइ छ । ‘यतिखेर हामी चैते धान भित्र्याउन थालेका छौँ । धान काटेपछि खेतमै सुकाएर सङ्कलन गर्न सम्भव छैन’, ढुङ्गानाले भने, ‘हरियो धान खेतमै काटेर थ्रेसिङ गरेर घर भित्र्याउने र पछि धान सुकाएर राख्ने गरेका छौँ । यसरी वर्षातको पानीबाट धान जोगाउने गरेका छौँ ।’
उनहरू जस्तै चैते धान खेती गरेका यहाँका धेरै किसान अहिले घरमा धान भित्र्याउन हतारमा छन् । चैते धान बर्से धान खेतीभन्दा राम्रो उत्पादन हुने किसानको भनाइ छ । चैते धान उत्पादन बढी हुने भए पनि धान भित्र्याउन वर्षातको समयमा हुने भएकाले किसानलाई समस्या हुने गरेको छ ।
कैलालीको भजनी बाढी प्रभावित क्षेत्र हो । बर्सेनि बाढी र डुवानको समस्या हुन्छ । बाढी र डुवान हुने भएकाले अधिकांश किसानले वर्षात्मा खेती गर्दैनन् । बाढी र डुवानका कारण भजनीमा सयौँ बिघा जमीन बगर पनि बनेको छ । बगर बनेको जमीनमा किसानले गर्मी मौसममा विभिन्न बेमौसमी तरकारी खेती गर्ने गरेका छन् ।
छिट्टै रोपाइँ गरेका किसानहरु अहिले धमाधम धान भित्र्याइरहेको भए पनि केही ढिला भएका किसानको धान पाकिरहेको छ । ढिलो गरी धान रोपेका किसानले असार अन्त्यसम्म धान भित्र्याउने गर्दछन् ।
किसानलाई मनसुन शुरु हुने समय नजिकिएपछि झन हतार भएको छ । भजनीमा करीब ४०० बिघा क्षेत्रफलमा यसवर्ष चैते धानखेती गरिएको नगरपालिकाको कृषि शाखाको तथ्याङ्कमा छ । भजनी नगरपालिका, प्रदेश सरकारले समेत किसानलाई चैते धान खेतीमा प्रोत्साहनका लागि सहयोग र अनुदान दिने गरेका छन् ।