लुम्बिनी प्रदेश मिडिया विधेयक फिर्ता नगरे आन्दोलन गर्ने प्रेस संगठनको चेतावनी

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई ज्ञापन पत्र बुझाउँदै प्रेस संगठनका नेताहरु । फोटो : सिराज खानको फेसबुकबाट

नेपालगन्ज : प्रेस संगठन नेपालले लुम्बिनी प्रदेश सरकारको संसदमा दर्ता गरेको मिडिया विधयेक तत्काल फिर्ता लिन माग गरेको छ ।
संगठनको बाँके शाखाले बिहीबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालमार्फत लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै विधेयक दर्ता गराउनु सकारात्मक नै भए पनि विधेयकको सिद्धान्त, उद्देश्य र अन्तर्वस्तु सम्पूर्ण रुपमा प्रेस स्वतन्त्रता विरोधी रहेकाले यसमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विधेयकको आशय सैद्धान्तिक रुपमा नै त्रुटिपूर्ण रहेको, प्रदेशभित्र मिडिया र मिडियाकर्मीको विकास तथा प्रद्धर्धन गर्न कानून तर्जुमा गर्नु पर्नेमा विधेयकको प्रस्तावना नै मिडियाको नियमनमा मात्रै केन्द्रित रहनु आपत्तिजनक रहेको जनाउँदै मिडिया र पत्रकारको विकास गर्नु भन्दा पनि स्वतन्त्र प्रेसको घाँटी निमोठेर मिडिया र पत्रकारहरुलाई सरकारका आदेश पालकको रुपमा खडा गर्ने कुत्सित मनशाय राखिएको ज्ञापनपत्रमा उल्लेख छ ।
मिडिया काउन्सिल स्वायत्त हुनुपर्ने संसार भरिको मान्यता विपरित मन्त्रीकै अध्यक्षतामा काउन्सिल बनाउने जस्तो हाँस्यास्पद प्रस्ताव खेदजनक छ । तसर्थ यो विधेयकको आंशिक सुधार मात्र भन्दा पनि सम्पूर्ण रुपमा फिर्ता लिएर पत्रकार महासंघ, पेशागत संगठन तथा पत्रकारिता क्षेत्रका विज्ञहरुसँगको परामर्शमा पुनःलेखनका लागि प्रदेश सरकार सँग जोडदार माग गर्दछौं ।
सरोकारवालासँगको छलफल र सहमतिपछि मात्रै उक्त सञ्चार विधेयक अगाडि बढाइनुपर्ने माग गर्दै संगठनले माग सुनुवाइ नभए पत्रकार महासंघ र अन्य सञ्चार संगठनहरुसँग हातोमालो गर्दै सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिएको छ ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा प्रेस संगठनका केन्द्रीय अनुशासन आयोगका सदस्य सुशील लामिछाने, केन्द्रीय लेखा आयोगका सदस्य सिराज खान, प्रेस संगठन बाँकेका संयोजक डक्टप्रसाद धिताललगायत कार्य समितिका सदस्यहरुको सहभागिता रहेको थियो ।