बाँकेमा निषेधाज्ञा थप खुकुलो, मंगलबारदेखि सबै कार्यालय खुल्ने

नेपालगन्ज : बाँकेमा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै ७ दिन थप गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले कोरोना संक्रमणको दर घट्दै गए पनि जोखिमको अवस्था कायमै रहेकोले १४ असारसम्म निषेधाज्ञा थप गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । मंगलबारदेखि जिल्लाका सबै सार्वजनिक निकायहरु तथा बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुने भएका छन् । यसअघि दिउसो २ बजेसम्म सञ्चालन हुँदै आएका दैनिक उपभोग्य वस्तुलगायत पसल व्यवसायहरु बिहान ७ देखि दिउँसो ४ बजेसम्म खोल्न दिने भएको प्रशासनले जनाएको छ । त्यस्तै दूरशिक्षा लगायतका वैकल्पिक सिकाइका माध्यमबाट हुने शिक्षण तथा सिकाइ, बिमा, बैंक तथा वित्तीय संस्थाबाट हुने सेवा प्रवाह, कृषि कार्य, उद्योग कलकारखाना निर्माण कार्य, रेष्टुरेष्टहरुबाट हुने प्याकिङ तथा टेकअवे सेवा भौतिक दूरी लगायत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना हुने व्यवस्था मिलाएर सञ्चालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । पछिल्लो समय जिल्लामा सक्रिय संक्रमितको संख्या घटेर ८६ जनामा झरेको छ ।