कोरोनाविरुद्ध जनचेतना फैलाउँदै राजापुरका युवा

 

राजापुर (बर्दिया) : हातहातमा पर्चा अनि मास्कका बट्टा । काँधमा झोला । चोकचोकमा सचेतना अनि अटोरिक्सामा लाउडस्पिकरसहितको कोरोना भाइरसबाट बच्ने सन्देश प्रसारण । न कुनै संघ संस्थाका जागिरे व्यक्ति हुन, न त जिम्मेवारी प्राप्त स्थानीय सरकारका प्रतिनिधि नै । यी त कोरोना भाइरसबाट बच्न स्वयंसेवी भावनाले सचेतना जगाउँदै आएका बर्दियाको राजापुर क्षेत्रका स्थानीय युवा हुन् । बखेरी युवा समूहका यी युवाको आजभोलिको दिनचर्या यसरी नै बित्ने गरेको छ ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेको बर्दियामा सचेतनामा ध्यान नदिने हो भने धेरैले संक्रमणको सिकार हुनुपर्ने ठानेर कोरोनाविरुद्ध जनचेतना फैलाउने काममा राजापुर क्षेत्रका युवाहरु सक्रिय भएको युवा बखेरीकी संयोजक सीता चौधरीको भनाइ छ । उनी सचेतनाले यहाँका मानिसहरुलाई कोरोनाबिरुद्ध लड्न र सचेत रहन मद्दत पुगेको बताउँछिन् । ‘बाहिर कतैबाट आए अथवा कुनै बस्तु छोए साबुन पानीले हात धुने मात्र होइन, घरबाहिर निस्कनु नै परे मास्क प्रयोग गर्नुपर्ने ज्ञान पनि दिएको छ’, उनले भनिन् ।


महामारीको शुरुवाती चरणमा विभिन्न क्रियाकलाप गरी समुदायमा सचेतना जगाएका युवाहरुले दोस्रो लहर सुरु भएसँगै राजापुर नगरपालिकाका १० वटै वडामा सचेतनामूलक अभियान थालेको अर्की सदस्य माया चौधरी बताउँछिन । समुदायमा कोरोनाबारे सचेतना जगाउने कार्यमा बखेरीले अभियान थालेपछि सुरुसुरुमा वडा कार्यालयबाट मास्कलगायत अन्य सामग्रीका लागि सहयोग उपलब्ध हुने गरेको थियो । तर, अहिले आफूहरु आफ्नै कोषबाट मास्क वितरणलगायत सचेतनाका काममा बजेट खर्चिने गरेको युवा बखेरीकी अर्की सदस्य भूमिकुमारी चौधरीको भनाइ छ । ‘युवा बखेरीको कोषमा ९५ हजार रुपैयाँ बजेट छ’, उनले भनिन, ‘हामी त्यही कोषवाट कोरोनाविरुद्धको सचेतना सम्बन्धी अभियानमा खर्च गर्ने गरेका छौ ।’
कोरोना महामारीको दोस्रो लहरले उग्र रुप लिन थालेपछि युवा बखेरी केन्द्रका सदस्यहरु  पैंसा उठाएर समेत संक्रमितहरुलाई स्वास्थ्य सामग्री वितरण गर्न थालेका छन् । राजापुर ३ का दीलिप रत्गैया, घनश्याम चौधरी र रामहरि चौलागाईले व्यक्तिगत तर्फबाट कोरोना संक्रमितहरुलाई मास्क, सेनिटाइजर, साबुन जस्ता सामग्री वितरण गरिरहेका छन् । सुमदायका साथै संक्रमित भएको ठाउँमै गएर सामग्री वितरण गर्नुका साथै सचेतना जगाउने काम पनि गरिरहेको युवा बखेरीका सदस्य दीलिप रत्गैयाले बताए ।


युवाहरुले यस्तो महामारीको समयमा काम गर्न पाउनुलाई विपतमा युवाको भूमिका र अवसरको रुपमा लिएका छन् । स्थानीय जीवनराज सुवेदी यस्तो महामारीको समयमा स्वयंसेवी रुपमा कार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउँछन् ।


बखेरी युवा समूहले गरेको यो अभियानमा सम्बन्धित वडा कार्यालयको पनि साथ समर्थन र सकारात्मक सहयोग रहेको छ । राजापुर नगरपालिका वडा नम्वर ५ का वडाअध्यक्ष रामबहादुर चौधरी बखेरी सञ्जालले गरेको कार्यबाट आफूहरुलाई पनि कार्य गर्ने उर्जा थपिएको बताए । ‘महामारीको समयमा सबैको हातेमालो जरुरी छ भन्ने सन्देश युवाहरुले दिएका छन’ उनले भने । बेखेरी सञ्जाल कमैंया महिला जागरण समाज बर्दिया नेपालको सहयोगमा स्थापना भएको हो । समाजमा हुनेगरेका विकृति विसंगतिलाई निमूर्ल पारी सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ एक्सन एड नेपाल र कमैंया महिला जागरण समाज नेपालको सहयोगमा सञ्चालित युवा नेत्तृत्व विकासका लागि सहकार्य परियोजना अन्तगर्त युवा बखेरी गठन भएको हो । स्वयं सेवी रुपमा गठन भए पनि पछिल्लो समय कोरोना भाइरसबारे सचेतना जगाउन यो समूहले महत्वपूर्ण भूमिका खेलेको कमैँया महिला जागरण समाज नेपालका सहजकर्ता राजेन्द्रप्रसाद थारुको भनाइ छ ।


विश्वव्यापी महामारी कोरोना भाइरससँग लड्न एक्लैले सम्भव छैन, यो समस्या सबैको साझा समस्या हो । यसको समाधानका लागि सबैले आफ्नो प्रत्येक नागरिक जिम्मेवार बन्न जरुरी छ । सिंगो मानव समुदाय संकटमा परेको वर्तमान अवस्थामा यो संकटबाट मुक्त हुनको लागि सबैको हातेमालो र ऐक्यबद्धता जरुरी छ ।